धन बन्न नसकेको वन
वीरगन्ज, २२ फागुन । जल, जमिन र जडीबुटीका निमित्त प्रसिद्ध मुलुक नेपाल, त्यसै पनि वन नेपालको धन भन्ने भनाइ निकै परिचित हो । नेपालको धन भने तापनि यसबाट सिंगो मुलुकले यथेष्ट फाइदा लिन सकेको छैन । वनजंगल तस्करीको चंगुलमा परेको छ । रातारात वन फँडानी गरी काठ तस्करी गर्नेको सञ्जाल बढ्दै जाँदा सिंगो मुलुकले त्यसको घाटा बेहोर्नुपरेको छ । त्यससँगसँगै वनविनाश तथा आगलागीजस्ता घटना क्रमिक रूपमा बढ्दै गइरहँदा चिन्ताको विषय बनिरहेको छ ।
मानवद्वारा अनियन्त्रित रूपमा वनजंगल मासिँदै जाँदा प्राकृतिक सम्पदामा खतरा पुग्ने निश्चित छ । वनजंगलबाट निकै आश्रित रहेका सर्वविदितै छ । मानव समुदाय, जंगली जनावर, पशुपन्छीले वनजंगलसँग प्रत्यक्ष सरोकार राखेको हुन्छ । वनजंगलबिना तिनको जीवनयापन कल्पनासमेत गर्न सकिँदैन । वनजंगलबाट सबैभन्दा पहिले स्वच्छ हावा पाइन्छ भने काठदाउरा, घाँसपातलगायतका लागि हामी वनजंगलसँग निर्भर रहेका हुन्छौं । हामीले खाने खानेपानीमा समेत वनजंगलको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।
वनजंगलले सिंगो मुलुकको अर्थतन्त्रमा टेवा पु-याइरहेको हुन्छ । वन नेपालको एक महत्वपूर्ण प्राकृतिक सम्पदा हो । देशको आर्थिक विकासको मेरुदण्डका रूपमा रहेका कृषि, पर्यटन, जलस्रोत, उद्योग आदिको आधारस्तम्भ पनि वनलाई लिन सकिन्छ । देशको आर्थिक, सामाजिक एवं वातावरणीय क्षेत्रको विकासमा वनको उल्लेखनीय योगदान रहेको छ । देशको कुल भू–भागको ४४.७४ प्रतिशत क्षेत्र वनजंगलले ढाकेको छ ।
झन्डै आधा भू–भाग क्षेत्रफल ढाकेको वनजंगलको विनाशले मानव समुदायमा कस्तो असर पर्छ भन्नेमा कल्पानासमेत गर्न सकिँदैन । क्षेत्रफलका हिसाबले सानो देश भए तापनि भौगोलिक बनावट, उचाइ तथा हावापानीको विविधतामा अत्यन्त धनी छ । जैविक विविधता देशको समृद्धिसँग पनि गाँसिएको छ । वन जैविक विविधताको ठूलो भण्डार पनि हो । यहाँबाट हामीले विश्वमै नपाउने बहुमूल्य जडीबुटीसमेत पाउन सक्छौं ।
जुन हाम्रो मुलुककै लागि निकै महत्वपूर्ण रहेको हुन्छ । विश्वले चाहेर पनि उत्पादन गर्न नसक्ने जडीबुटी हाम्रा वनजंगलमा खेर गइरहेको छ, जसको पहिचान गरी उपयोगितामा ल्याउन वनजंगलसँग सरोकार रहने विभागहरूले ध्यान पु-याउनुपर्ने देखिन्छ । वन सम्पदाको संरक्षण, विकास तथा व्यवस्थापन गर्ने उद्देश्यले वन विभागको स्थापना भएको छ । वि.सं. १९९९ मा केन्द्रमा वन विभाग खडा भई सोअन्तर्गत विभिन्न अड्डाहरू स्थापित भए ।
वन संगठनलाई प्रभावकारी, समयानुकूल, जनमुखी र सेवामूलक बनाउन लागिपरेको हुन्छ । वन एक नवीकरणीय प्राकृतिक स्रोत भएकाले यसको समुचित व्यवस्थापनका माध्यमबाट वस्तु र सेवा उपलब्ध गराउँदै वनलाई समृद्धिको आधार बनाउन सम्बद्ध निकायहरूले पहल गर्नु आजको आवश्यकता हो । मुलुकको झन्डै आधा भू–भाग वनजंगलले ढाके तापनि हाल विदेशबाट समेत काठ आयात भइरहेको छ ।
यसलाई निरुत्साहित गर्न वैज्ञानिक वन व्यवस्थापनका माध्यमबाट काठदाउराको सहज आपूर्ति गर्ने दूरगामी नीति लिइएको छ । तर, कार्यान्वयनमा भने फितलो भएको देख्न सकिन्छ । वनजंगलबाट मुलुककै आर्थिक, सामाजिक र वातावरणीय क्षेत्रमा उल्लेख्य योगदान पुगी देशको समृद्धिमा थप टेवा पुग्ने कार्यक्रम ल्याउन जरुरी छ । हामीले हाम्रा वनजंगलबाट पूर्ण रूपमा फाइदा लिन सकिरहेका छैनौं । त्यसैले पनि फाइदाका पक्षहरूलाई पछ्याउन नसक्दा वनजंगलबाट आम्दानीको पहिलो स्रोत बनाउन सकिरहेका छैनौं ।
कारोबारडेली अनलाईबाट साभार......