दोश्रो मेयर कप क्रिकेटको उपाधि मनकामना माविलाई
वीरगन्ज, ३ चैत्र । वीरगन्ज महानगरपालिकाको आयोजनामा भएको दोस्रो मेयर रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत क्रिकेट प्रतियोगितको उपाधी मनकामना माविले कब्जा गरेको छ । वीरगन्जको आदर्शनगर रंगशालामा आज भएको अन्तिम खेलमा साउथजोन माविलाई ५८ रनले पराजित गरेपछि मनकामना माविले उपाधि हात पारेको हो ।
टस जितेर पहिले व्याटिङ गरेको मनकामना माविले निर्धारित २० ओभरको खेलमा ७ विकेटको क्षतिमा ११४ रनको योगफल तयार पारेको थियो । मनकामाना माविका लागि असिम अविरीले २२ रन, सन्नीले १८ रन र असरफ मन्सुरीले १६ रनको योगदान दिए । ११५ रनको लक्ष्य सहित जवाफी व्याटिङ गरेको साउथ जोनले १६ ओभर ५ बल मै पूरा विकेट गुमाएर ५९ रन मात्रै बनाएपछि खेल मनकामना माविले जितेको हो ।
फाईनल खेलको म्यान अफ द म्याच मनकामनाका शिवम गुप्ता घोषित भए । विजेता टिमलाई समापन समारोहमा वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले शिल्ड प्रदान गर्नु भएको थियो । समापन मन्तव्य राख्दै महानगरपालिकाका नगर प्रमुख सरावगीले महानगरपालिकाले खेलकुद क्षेत्रलाई पनि प्रथामिकतामा राखेर दक्ष र उत्कृष्ट खेलाडीहरु उत्पादनका लागि खेलकुदका क्रियाकलापहरुलाई निरन्तरता दिने बताउनुभयो ।
फागुन १९ गतेदेखि शुरु भएको प्रतियोगिता मंगलबार सम्पन्न भएको हो । क्रिकेट प्रतियोगितामा महानगरभित्रका २६ वटा विद्यालयका टिमले भाग लिएको प्रतियोगिताका संयोजक एवं महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकार िदिनुभयो ।
वीरगन्ज महानगरपालिकाका यसअघि पूmटबल, कवड्डी र अन्य फिल्ड इभेण्ट र ट्र्याक इभेण्टका प्रतियोगिता पनि सम्पन्न भएको छ । सम्पूर्ण प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई आउने शनिबार ट्रफी र पुरस्कार वितरण गरिने महाशाखा प्रमुख कर्णले बताउनुभयो ।