कलैयामा वाणिज्य कार्यालयको अनुगमन, आठवटा पसल तथा फर्म कारवाहीमा 

कलैयामा वाणिज्य कार्यालयको अनुगमन, आठवटा पसल तथा फर्म कारवाहीमा 
पसलहरुमा अनुगमन गर्दै अनुगमन टोली : तस्वीर वाणिज्य कार्यालय वीरगन्ज

वीरगन्ज, १७ असार । वाणिज्य आपूर्ति तथा उपभोत्ता हित संरक्षण कार्यालय वीरगन्जले शुक्रबार कलैयाका पसल तथा फर्महरुमा अनुगमन गरेको छ ।  

कार्यालयका निरीक्षण अधिकृत नमोनाथ प्रसाद  यादवको नेतृत्वमा जिल्ला स्थित सरकारी कार्यालयका प्रतिनिधि तथा बारा उद्योग वाणिज्य संघका प्रतिनिधि सहितको टोलीले कलैया बजार अनुगमन गरेको हो ।

अनुगमनका क्रममा उपभोत्ता संरक्षण ऐन विपरित काम गरेका विभिन्न पसल तथा फर्महरुलाई कारवाही गरेको छ । कलैयाको पोशाक इम्पोरियम र खुश्बु  साडी सेंटर  कलैयालाई २०–२० हजार जरिवाना गराएको छ ।

उनीहरुले विल विजक नदेखाएको कसुरमा कारवाही स्वरुप जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोत्ता हित संरक्षण कार्यालय वीरगन्जका सूचना अधिकार दिलिप खंग खत्वेले जानकारी दिनुभयो ।

त्यस्तै न्यु नबिन बस्त्रालय र प्रियंका  रेडिमेड  जेनरल  स्टोरलाई खरिद बिल नदेखाएकोले १०–१० हजार जरिवाना तिराएको खत्वेले बताउनुभयो ।

जवाहर लाल हार्डवेयर  कलैया, गौरीशंकर सप्लायर्स, चौधरी  किराना पसललाई पाँच–पाँच हजार र जय  बाबा  अमरनाथ  किराना  भण्डारलाई अनुगमन कार्यमा  असहयोग  गरेकोले तीन हजार जरिवाना गराएको छ ।

कारवाही गरि जरिवाना गरिएका पसल तथा फर्महरुलाई ७ दिन  भित्र कार्यालयको राष्ट्रिय बाणिज्य  बैंकको खातामा  दखिला  गरी  भौचर कार्यालयमा  पेश  गर्न  निर्देशन  दिएको  बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण  कार्यालयले जनाएको छ । श्री क्यान बस्त्रालयको कुनै कैफियत नभेटिएको जनाएको छ ।