कोभीशिल्डको दोश्रो डोज साउन २५ गतेदेखि लगाउन पाउने, प्रदेश १ र २ मा अझै ढिला हुने 

कोभीशिल्डको दोश्रो डोज साउन २५ गतेदेखि लगाउन पाउने, प्रदेश १ र २ मा अझै ढिला हुने 

काठमाडौं, २३ साउन। कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप लगाएकाहरुले दोस्रो डोज २५ गतेदेखि लगाउन पाउने भएका छन् । भुटानले शुक्रबार बिहान ३ लाख डोज खोप पठाइसकेको र जापानले १६ लाख डोज खोप पठाउने सुनिश्चित भएकाले साउन २५ गतेदेखि दोश्रो डोज खोप लगाउन बाँकी करिब १३ लाख ३८ हजार ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुले साउन २५ गतेबाट खोप लगाउन पाउने भएका हुन् । 

जापानले दिने भनिएको खोप शनिबार र आइतबार दुई लट गरेर आउँदैछ । चार/चार लाख गरेर ८ लाख डोज खोप आगामी दुई दिनमा आउँछ र बाँकी ८ लाख डोज खोप १० दिनपछि पठाउने भनिएको स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा। झलक शर्मा गौतमले बताउनुभयो । 

गौतमका अनुसार खोप उपलब्धता अनुसार क्रमशः वितरण गर्ने उक्त खोप अभियान प्रदेश १ र २ मा भने अझै ढिलो हुने भएको छ । साउन २५ गतेदेखि कोभिशिल्ड खोपको दोस्रो डोजको पर्खाइमा रहेका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई खोप दिइने गौतमले बताउनुभयो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो डोज १२ हप्तापछि लगाउनुपर्ने बताएपनि खरिद सम्झौता भएकोमध्ये १० लाख डोज खोप भारतले नदिएपछि उनीहरु दोस्रो डोज लगाउनबाट वञ्चित भएका थिए । फागुन तेस्रो साता ६५ वर्षमाथिका १३ लाख ३८ हजार भन्दा बढी जेष्ठ नागरिकले भारतको सेरम इन्स्टिच्यूटले विकास गरेको कोभिशिल्ड नामक खोपको पहिलो डोज लगाएका थिए ।