विपत् व्यवस्थापनको व्यवस्था र अवस्था

विपत् व्यवस्थापनको व्यवस्था र अवस्था

नेपालमा प्राकृतिक र गैरप्राकृतिक प्रकोपका कारण बर्सेनि ठूलो धनजनको क्षति हुँदै गएको छ । जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा धनजनको क्षति झन् बढ्दै गएको छ । सरकारी तथ्यांकअनुसार कमजोर र भिरालो भूबनोटका कारण नेपाल विश्वमा प्राकृतिक विपत्का हिसाबले २० औं स्थानमा रहेको छ । जलवायु परिवर्तनको जोखिमका हिसाबले नेपाल विश्वमै चौथो स्थानमा छ । त्यस्तै भूकम्पीय जोखिमका हिसाबले ११ औं र बाढी एवम् पहिरोका हिसाबले ३० औं स्थानमा रहेको छ ।

जलवायु परिवर्तनका कारण हिमताल फुट्ने वा अस्वाभाविक रूपमा हिउँ पग्लिने कारणबाट नदीतटीय क्षेत्रका बस्तीहरू उच्च जोखिममा छन् । त्यसमा पनि २०७२ सालको महाभूकम्पका कारण जर्जर भएका पहाडहरू सानोतिनो वर्षाले पनि पहिरो जाने जोखिम उत्तिकै छ । त्यसैको फलस्वरूप मेलम्ची नदीको बाढीपहिरो आसपासमा अकल्पनीय धनजनको क्षति भएको दुःखद् घटना आलै छ ।

नेपालीले एकपछि अर्को विपत्को सामना गर्दै आएका छन् । विभिन्न अध्ययन र अनुभवअनुसार नेपालमा हरेक वर्ष कम्तीमा पनि ५ सयवटा विपत्का घटना हुने गरेका छन् । भूकम्प, अतिवृष्टि, अनावृष्टि बाढीपहिरो, हावाहुरी आदिको चपेटाले निरन्तर जनतालाई आक्रान्त बनाइराखेको छ । त्यस्तै शीतलहर, आगजनी, डुबान, वातावरण प्रदूषण आदिको चपेटामा बर्सेनि पर्नु नेपालीको नियति नै बनेको छ ।

विभिन्न खाले विपत्तिहरू बर्सेनि किन बढ्दै गएको छ ? अध्ययन–अनुसन्धानको विषय बन्नुपर्छ । के विपत्तिलाई न्यूनीकरणका उपाय केके होलान् ? खोजीको खाँचो आजको आवश्यकता हो । विपत् व्यवस्थापनका लागि बनाइएका कानुन तथा नीतिहरू कतिका प्रभावकारी भएका छन् ? व्यावहारिकताको कसीमा दाँजेर समयमा नै परिमार्जन तथा नयाँ निर्माण गर्न विलम्ब गरिनु हुन्न । प्राकृतिक विपत्लाई रोक्न सकिन्न, तर यसको जोखिमलाई भने न्यून गर्न सकिन्छ ।

विपत् जोखिम न्यूनीकरणका लागि सरकार र सरोकार पक्षको चिन्ता र चिन्तनको खाँचो पर्छ । अल्पकालीन र दीर्घकालीन तथा तत्काल सम्बोधन गर्ने संयन्त्र र स्रोतको जोहो हुनुपर्छ । नेपालमा करिब चार दशकअगाडि वि.सं. २०३९ मा पहिलो दैवीप्रकोप उद्धार ऐन जारी भयो । यस ऐनले दैवी प्रकोपको परिभाषामा भूकम्प, आगलागी, आँधीबेहरी, बाढीपहिरो, अतिवृष्टि, अनावृष्टि, अनिकालका साथै मानव सिर्जित प्रकोपअन्तर्गत औद्योगिक दुर्घटना, विस्फोटक वा विषाक्त पदार्थबाट हुने दुर्घटना आदिलाई समेटेको छ ।

संशोधित विद्यमान ऐनले प्राकृतिक प्रकोप राहत तथा उद्धारका लागि केन्द्र, क्षेत्र र जिल्लातहमा उद्धार समितिहरूको व्यवस्था गरेको छ । प्छिल्ला दिनहरूमा दैवी प्रकोपको विद्यमान अवधारणामा परिवर्तन आउन थाल्यो । विपत्मा राहत र उद्धारलाई मात्र ध्यान नदिएर सम्भावित जोखिमको पूर्वअनुमानित भविष्यवाणी गर्ने प्रविधि र संयन्त्रको विकास एवम् प्रयोग गर्ने नीति तथा रणनीति लिएको पाइन्छ ।

विपत्को प्रभावकारी सामना गर्दै उद्धार तथा राहत परिचालनलाई चुस्त र पारदर्शी बनाउन अन्तर्राष्ट्रिय प्राकृतिक प्रकोप न्यूनीकरण दशकप्रतिको प्रतिबद्धतास्वरूप नेपालले सन् १९९६ मा विपत् जोखिम व्यवस्थापनसम्बन्धी १० वर्षे राष्ट्रिय रणनीतिक कार्ययोजना तर्जुमा भयो । विपत् व्यवस्थापनलाई दसौं राष्ट्रिय पञ्चवर्षीय योजना २०५९–६४ देखि थप महत्वका साथ योजना तथा कार्यक्रम आएको पाइन्छ ।

पर्यावरणीय असन्तुलनका कारण प्राकृतिक विपत्ति बढ्दो क्रममा छ । अस्वाभाविक र अवैज्ञानिक किसिमले उद्योगधन्दा सञ्चालनका कारण पृथ्वी हरित गृहका रूपमा परिणत हुँदै छ, जसका कारण पृथ्वीको तापक्रम बढ्नु स्वाभाविकै हो । जसका कारण हिमालमा हिउँ पग्लेर काला पत्थर देखिन थालेको छ । यता आर्टिकको हिउँ पग्लेर समुद्रको सतह बढेका कारण तटीय क्षेत्र डुबानमा पर्ने जोखिम उत्तिकै छ ।

आगामी दिनहरूमा समुद्री आँधीबेहरी र खोलानालाको बाढीपहिरोले कति विनाश गर्ने हो, थाहा छैन । मौसममा आउने उतारचढाव र अप्रत्याशित परिवर्तनले धनजनको क्षति बढ्दै जाने प्रायः निश्चित छ । प्राकृतिक स्रोतसाधनको दोहन गरी विकास गर्ने होडबाजीले प्रदूषणको दर चुलिँदो छ । प्राकृतिक स्रोतहरू जस्तै कोइला, पेट्रोलियम पदार्थ, जिंक, म्याग्नेसियम, फलामलगायतका खानीहरू उत्खनन र प्रशोधन गर्दा वनजंगलको अत्यधिक दोहन भएको छ ।

वल्र्ड कोल्डले सन् २०२० मा प्रकाशित गरेको तथ्यांकअनुसार सन् २०१६ मा विश्वमा ८ अर्ब ५६ करोड १९ लाख मेट्रिक टन कोइला विभिन्न औद्योगिक प्रयोजनका लागि प्रयोगमा आयो । त्यस्तै सन् २०२० मा ३५ अर्ब ४४ करोड ३० लाख ब्यारेल पेट्रोलियम पदार्थ खपत भएको देखिन्छ । त्यस्तै वार्षिक करिब ४४ करोड क्युबिक मिटर काठ प्रयोग हुँदै आएको छ । पर्यावरणीय सन्तुलनका लागि अपरिहार्य वनजंगल विनाशले भविष्यमा झन् विकराल रूप लिने निश्चित छ ।

उद्योगबाट निस्किएका विषाक्त रसायन समुद्रमा फालिँदा कतिपय जलचर जन्तु र वनस्पति लोप हुँदै गएको वैज्ञानिकहरूको दाबी छ । औद्योगिक क्षेत्रबाट निस्कने कार्बन डाइअक्साइड ग्यासको कारण विभिन्न रोगले मानवलगायत जीवजन्तु र वनस्पतिमा शारीरिक विकृति र बिरामीको चाप बढ्दो छ । त्यस्तै कोरोना भाइरसलगायतका महाव्याधिको कारण र सहज रोकथाममा समेत पर्यावरणीय प्रदूषणले असर पारेको ठहर वैज्ञानिकहरूको छ ।

वातावरणीय सन्तुलन र शुद्धतामा बेलैमा ध्यान नदिएमा स्थिति झन्–झन् विकराल बन्नेतर्फ सरोकार सबैको ध्यान जानु दूरदर्शिता ठहर्छ । विकासको नाममा मानव सिर्जित कतिपय क्रियाकलापले विनाश निम्त्याएको पाइन्छ । विकासका लागि सञ्चालन गरिने उद्योगधन्दा स्थापना, सडक निर्माण, सहर बस्तीको विकास आदि योजनाबद्ध हुनु जरुरी छ ।

भौतिक विकासको स्वरूप तयार गर्दा यसले पछि पार्न सक्ने दुष्प्रभावका बारेमा वैज्ञानिक अध्ययन–अनुसन्धान इमानदारीपूर्वक गरिनुपर्छ । हरेक क्षेत्रमा राजनीतिक र व्यक्तिगत स्वार्थ प्रेरित भएर निर्णय गर्दा कतिपय प्राकृतिक प्रकोप भएका उदाहरण हाम्रो सामु छ । आफ्नो ठाउँमा जसरी भए पनि सडक पु-याउने होडमा डोजरे विकासका कारण पहाडमा बाढीपहिरो गएर ठूलो धनजनको क्षति भएको टड्कारो देखिए तापनि चेत नखुल्नु उदेकलाग्दो परिस्थिति हो ।