पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध वीरगञ्जमा अनेरास्ववियुको प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध वीरगञ्जमा अनेरास्ववियुको प्रदर्शन

वीरगन्ज, २७ कार्तिक । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु पर्साले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि फिर्ता गर्नुपर्ने माग गर्दै वीरगञ्जमा प्रदर्शन गरेको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले खाद्य पदार्थ तथा पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोधमा प्रदर्शन गरेको हो ।

अनेरास्ववियु पर्साका संयोजक रेयाज अन्सारीको नेतृत्वमा वीरगञ्जको घन्टाघरबाट शुरु भएको विरोध प्रदर्शन माइस्थान, आदर्शनगर, ग्रिनसिटी, घडिअर्वा हुँदै पुनः घण्टाघरमा आएको कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै अनेरास्वविययुका केन्द्रीय सदस्य हेमन्त तामाङले नेपालको इतिहासमै वर्तमान सरकार सबैभन्दा भ्रष्ट सरकारको रुपमा प्रमाण्ति भएको आरोप लगाउनुभयो । आफ्नै जनतालाई सुख र समृद्धि दिनुपर्नेमा उल्टै लुट्न र जनतालाई पीडा दिएको उहाँले आरोप लगाउनुभयो ।

कोणसभालाई सम्बोधन गर्दै नेपाल खेलकुद महासंघका सचिव एवं पूर्व विद्यार्थी नेता रामकिशोर सिँह (पराग) ले जनतालाई मार्ने र सास्ती दिने काम तत्काल नरोके र पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता नभए चरण बद्ध रुपमा सरकार विरुद्ध आन्दोलनमा उत्रिने चेतावनी  दिनुभयो ।

प्रदर्शनमा अनेरास्ववियुका केन्द्रीय सदस्य मेराजुल हवारी, अकलेश साह, नेताहरु जावेद हवारी, विकेश यादव, जेयाद अन्सारी, ठाकुरराम बहुमुखी क्याम्पस कमिटीका संयोजक आसिफ अहमद, अखिलका राष्ट्रिय परिषद् सदस्य विकास यादव, विद्यार्थी नेता भक्ति अग्रवाल, नितेश वर्णवाल, अनिकेत श्रीवास्तव, पुकार सुवेदी, तुफैर अंसारी, सुजित मण्डल लगायतको उपस्थिति रहेको थियो ।