‘एसीसीको विषयमा माधव नेपालको ७ सवाल’

‘एसीसीको विषयमा माधव नेपालको ७ सवाल’

वीरगन्ज, २८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गराउन दौडधुपमा लागेको बेला सत्ता गठबन्धनको एक घटक एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले भने यथास्थितिमा एमसीसी पास हुन नसक्ने बताउनु भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले एमसीसीबारे जनतालाई स्पष्ट पार्नुपर्ने चुनौति रहेको बताउनुभयो ।

समाजवादी प्रेस संगठन पर्साले वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो, ‘एमसीसीको बारेमा नेपाली जनता र राजनीतिक दल विभाजित छन् । त्यसैले एमसीसीमा स्पष्टता हुनुपर्छ ।

कतिपय कुरा मिलाउनुपर्ने छ । तर जनमत एमसीसीको विरुद्धमा छ । जनमतलाई पनि कसरी आश्वस्त बनाउन सकिन्छ । यो पनि एउटा ठूलो चुनौति छ ।’ 

१. इन्डोप्यासेफिक रणनीतिको अंग हो कि होइन ?
२. अमेरिकाको सुरक्षा रणनीति अन्तर्गत पर्छ कि पर्दैन ? सैन्य संलग्नता छ कि छैन ?
३. प्रसारण लाइन तलको भू–भाग वा सडक बनाउँदा नेपालको सार्वभौम अधिकार रहन्छ कि  
   रहँदैन ?
४. निर्माणको काममा चाहिने श्रमशक्तिमा योग्यता क्षमता अनुसार नेपाली प्रयोग गर्न पाइन्छ कि 
   पाइँदैन ?
५. त्यसबाट उत्पन्न हुने बौद्धिक सम्पत्तिमा नेपालको अधिकार सुनिश्चित हुन्छ कि हुँदैन ?
६. एसीसीको लेखा परीक्षण गर्ने हक नेपालको महालेखा परीक्षकले प्राप्त गर्छ कि गर्दैन ?
७. एमसीसीसँग जोडिएको कानुनको बारेमा स्पष्ट धारणा आउनुपर्छ । आफूखुशी नयाँ–नयाँ कानुन 
   बनाउँदै जाँदा नेपालको हितमा असर गर्छ भने त्यस्तो कुरालाई स्वीकार गर्न सक्छ कि सक्दैन ?

सम्झौता अनुमोदन गर्ने मिति केही लम्ब्याउदा उचित हुने बताउदै भन्नुभयो, “छलफल गर्न समय मिल्थ्यो । गहिरोसँग अध्ययन गर्न पाइन्थ्यो । भए नभएको प्रचार भइरहेको छ । कतिपय कुरालाई सुधार गर्न मौका मिल्छ,’ उहाँले भन्नुभयो, ‘यसको अध्ययन गरिरहेका छौं ।

अन्तिम निष्कर्षमा पुग्न बाँकी छ । तर आँखा चिम्लेर एमसीसीलाई समर्थन गर्न सकिंदैन । एमसीसी आर्थिक सहयोग मात्रै भनिएपनि सहयोग लिनकै लागि दिईरहेको दबावले केही भित्री कुराहरु होला कि भन्ने आशंका जनमानसमा पैदा गरेको छ । यसलाई स्पष्ट पार्नु आवश्यक रहेको नेपालले बताउनुभयो । 

समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज कुमार पटेलको अध्यक्षतमा भएको कार्यक्रममा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सचिव नागेन्द्र चौधरी, पोलिटव्यूरो सदस्य सरला यादव, पोलिटव्यूरो सदस्य एवं मधेस प्रदेशका उपाध्यक्ष रामचन्द्र साह,

पोलिटव्यूरो सदस्य एवं पर्सा इन्चाज चिरञ्जिवी आचार्य, पर्सा अध्यक्ष बालगोपाल थापा,  महानगर अध्यक्ष मनोज चौधरी, नेताहरु किशोरी यादव, प्रमोद साह, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य एवं पर्साका प्रचार विभाग प्रमुख राघव साह लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचाल संगठनका पर्सा उपाध्यक्ष शम्भु कुमार सुमनले गर्नुभएको थियो ।