उच्च अदालतको अस्थायी इजलास वीरगन्जमा दुई न्यायधीश सहित १५ जनामा कोरोना संक्रमण पुष्टि
वीरगन्ज, ९ बैशाख । नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको परिक्षणमा संक्रमण पुष्टि भएका ८८ जना मध्ये वीरगन्ज्ज स्थित उच्च अदालत अस्थायी इजलाशका दुइ जना न्यायधिश र १३ जना कर्मचारी गरी १५ जनामा कोरोना संक्रमण देखिएको छ । उच्च अदालत अस्थायी इजलाश वीरगन्जका १०६ जनाको स्वाब संकलन गरिएको थियो ।
त्यसमध्य ८० जनाको स्वाब नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर परिक्षण गर्दा दुइ जना न्यायधिश सहित १५ जनामा संक्रमण भेटिएको हो । २६ जनाको स्वाब परीक्षणको रिपोर्ट भने आउन बाँकी रहेको छ । वीरगन्जको नारायणी अस्पतालमा बुधबार गरिएको परिक्षणमा ८८ जनामा कोरोना भाइरस स.क्रमण भेटिएको थियो । नारायणी अस्पतालमा बुधबार राति १ सय ९२ जनाको थ्रोट स्वाब, आरटी–पिसिआर प्रविधिबाट परिक्षण गर्दा ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
ती मध्ये पर्सा जिल्लाका ७९ जना रहेका छन् । पर्साका ७९ जना मध्ये ७६ जना वीरगन्ज महानगरपालिकाका छन् । बाकी ३ जना पर्साको बहुदारमाई नगरपालिकाका छन् । यस्तै बारा जिल्लाका ७, रौतहट र रुकुम जिल्लाका १/१ जनामा पनि सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकरी दिनुभयो । यसैबिच यसअघि अस्ति बेलुकी पनि १ सय ४० जनाको स्वाब परिक्षण गर्दा ती मध्ये ६५ प्रतिशतमा अर्थात ९१ जनामा संक्रमण पुष्टि भएको थियो ।
कोरोनाको दोस्रो लहर शुरु भए यता वीरगन्जमा ७ जना संक्रमितको मृत्यु भइसकेको छ ।वीरगन्जको नारायणी अस्पतालमा ५ जना र नारायणी बयोधा अस्पतालमा २ जनाको मृत्यु भएको डाक्टर दासले बताउनुभयो । मृत्यु हुने ७ जनामा पर्साका ५ जना तथा बारा र सर्लाहीका १/१ जना हुन् ।