अर्थमन्त्रीका विज्ञ सल्लाहाकारमा राष्ट्र बैंकका उपनिर्देशक नियुक्त  

अर्थमन्त्रीका विज्ञ सल्लाहाकारमा राष्ट्र बैंकका उपनिर्देशक नियुक्त  

भदौ, १ काठमाडौं । दोश्रो पटक नियुक्त हुनुभएका अर्थमन्त्री जनार्दन शर्माले आफ्नो  विज्ञ सल्लाहकारको रुपमा नेपाल राष्ट्र बैंकका उपनिर्देशकलाई नियुक्त गर्नुभएको छ । नेपाल राष्ट्र बैंकका उपनिर्देशकमा कार्यरत डा. शालिकराम पोखरेललाई अर्थमन्त्री शर्माले विज्ञ सल्लाहारमा नियुक्त गर्नुभएको हो ।

डा. पोखरेललाई नेपाल राष्ट्र बैंकको उपनिर्देशकबाट अर्थमन्त्रीको विज्ञ सल्लाहकारको रुपमा काम गर्न काजमा मन्त्रालयमा खटाईएको छ । बैंक तथा वित्तीय क्षेत्रको विज्ञ सल्लाहकारको रुपमा पोखरेल बुधबारदेखि मन्त्रालयमा हाजिर हुनुभएको छ । उहाँको तलबभत्ता भने नेपाल राष्ट्र बैंकबाटै पाउनु हुने छ।

यसअघि मन्त्रालयले पोखरेललाई काजमा मन्त्रालय पठाइदिन भन्दै राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । शर्मा अर्थमन्त्रीमा नियुक्त भएपछि उहाँले आफूलाई अर्थको विषयमा ज्ञान नभएको बताउदै विज्ञहरुको सल्लाहा र सुझाव अनुसार नेपालको अर्थतन्त्रलाई चलायमान बनाउने बताउनु भएको थियो ।

अर्थमन्त्री शर्माले अर्थको बारेमा ज्ञान नभएको भन्ने वास्तविकता सार्वजनिक गर्दा केही व्यक्तिहरुले उहाँको आलोचना र टिकाटिप्पणी पनि गरेका थिए ।