पर्साका स्थानीय तहहरु नीति तथा कार्यक्रम र बजेट ल्याउदै  

पर्साका स्थानीय तहहरु नीति तथा कार्यक्रम र बजेट ल्याउदै  

वीरगन्ज, ८ असार । स्थानीय तह सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार सबै ७ सय ५३ वटै पालिकाले असार १० गते भित्र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट आ–आफ्नो गाउँ/नगर सभामा पेस गर्नुपर्ने संवैधानिक व्यावस्था छ । बजेटमा चालू आर्थिक वर्षको राजस्व र व्ययको यथार्थ विवरण तथा आउँदो आर्थिक वर्षका योजना तथा कार्यक्रम र आय/व्ययको अनुमानित विवरण समावेश गर्नुपर्छ ।

पालिकाले आफ्नो आन्तरिक राजस्व र आयबाट प्राप्त रकम, राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम, नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानलगायतका आधारमा वार्षिक बजेट निर्माण गर्नुपर्छ । सङ्घ र प्रदेशबाट प्राप्त हुने अनुदान खुम्चिएको र आन्तरिक आम्दानीको स्रोत परिचालन कमजोर बनेपछि सङ्घ र प्रदेश सरकारको जस्तै धेरैजसो पालिकाको बजेटको आकार घट्ने देखिएको छ ।

सङ्घीय सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गरिसकेका छन् । पर्सामा भने कतिपय स्थानीय तहहरुले नीति तथा कार्यक्रम र बजेट ल्याईसकेका छन् । कतिपय भने बजेट ल्याउने तयारीमा जुटेका छन् । यसअघिको पहिलो कार्यकालमा अधिकांश स्थानीय तहहरुले तोकिएको समय असार १० गते नीति तथा कार्यक्रम र बजेट ल्याउन नसक्दा संघ सरकारबाट पाउने गरेको अनुदानमा समेत कटौती हुने गरेको थियो ।

यसपटक भने पर्साको वीरगन्ज महानगरपालिका, बहुदरमाई नगरपालिका, बाराको जीतपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका, प्रसौनी गाउँपालिका लगायतले वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन् । पर्साको पर्सागढी नगरपालिकाले ९ या १० गते बजेट ल्याउने तयारी गरेको छ । संघ र प्रदेशमा नै बजेट घटेर आएकोले यसपटक पर्सागढी नगरपालिकामा पनि बजेट घट्ने सम्भावना रहेको प्रमुख प्रशासकीय अधिकृत छविरमण भट्टराईले बताउनुभयो ।

ठोरी गाउँपालिकाको नीति तथा कार्यक्रम असार ९ गते ल्याउने तयारी गरेको पालिका अध्यक्ष लालबहादुर श्रेष्ठले बताउनुभयो । त्यस्तै जगरनाथपुर गाउँपालिकाका कार्यपालिका बैठक आज बस्ने भएको छ । शुक्रबार कार्यपालिका बैठक बसेपछि ९ गते वा १० गते नीति तथा कार्यक्रम र बजेट ल्याउने प्रमुख प्रशासकीय अधिकृत कृष्ण नन्दन रायले बताउनुभयो । पकाहमैनपुर गाउँपालिकाको नीति तथा कार्यक्रम असार १० गते आउने प्रमुख प्रशासकीय अधिकृत राज कुश्वाहाले बताउनुभयो ।

जीराभवानी गाउँपालिकाको कार्यपालिका बैठक अस्ती बसेको र असार १० गते नीति तथा कार्यक्रम र बजेट ल्याउने प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले बताउनुभयो । यसैगरी धोविनी गाउँपालिकामा भने नीति तथा कार्यक्रम र बजेट ल्याउन समस्या देखिएको छ । असार १० गते भित्रमा नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने भएपनि १३ सदस्य रहेको कार्यपालिकामा अध्यक्ष अल्पमतमा पर्नुभएको छ ।

त्यस्तै गाउँसभामा पनि ७५ प्रतिशत विपक्षी नै रहेकोले नीति तथा कार्यक्रम ल्याउन चुनौती रहेको प्रमुख प्रशासकीय अधिकृत नवाज हुसैनले बताउनुभयो । तरपनि गाउँपालिका अध्यक्ष आन्तरिक छलफलमा रहेको र असार १० गते नै नीति तथा कार्यक्रम ल्याउने प्रयासमा रहेको उहाँले बताउनुभयो ।