राप्रपाका उम्मेदवार डंगोलको मतदाता भेटघाट निरन्तर
वीरगन्ज, २ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदार किरणमान डंगोलले मतदाता भेटघाटलाई निरन्तरता दिनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयमा असोज २३ गते मनोनयन दर्ता गराउनु भएका उम्मेदवार डंगोलले यसअघि आफ्नो निर्वाचन क्षेत्रको वडा नम्बर ६, ७ लगायतका स्थानमा मतदाताको घर घरमा पुगेर भेटघाट गर्नुको थियो ।
बुधबार उहाँले वडा नम्बर १६ का मतदाताहरुलाई भेटघाट गर्नुभएको छ । मतदाताहरुसँगको भेटघाटका क्रममा मतदाताहरुको सदभाव र मायाले यसपटक उहाँलाई मत पाउनेमा डंगोल विस्वस्त हुनुहुन्छ ।
ठूला राजनीतिक दलहरुले आफ्नो पद जोगाउनका लागि गठबन्धन र तालमेल गरेपनि राप्रपाले पर्सामा आफ्नै शक्ति स्थापित गर्न चाहेको बताउदै उम्मेदवार डंगोलले अब मतदाताहरुले पनि सही उम्मेदवार छनोट गर्नुपर्ने बताउनुभयो ।
यसअघिका उम्ेमदवारहरुलाई पटक पटक हेरिसकेकोले पनि यसपटक मतदाताले नयाँ अनुहारलाई रोज्ने बताउनुभयो । डंगोल राजनीतिक क्षेत्रमा पूराना नेता भएपनि यसपटक उहाँको उम्मेदवारी पहिलो हो । पर्सामा जिल्लामा एकपटक जितेर जानेहरुले दोश्रो पटक जितेको इतिहास नरहेको भन्दै मतदाताले यसपटक पनि पूराना नेताहरुलाई बिदाई गर्न चाहेको आफूले पाएको बताउनुभयो ।
आफ्नो पार्टी नेपालका ८० प्रतिशत हिन्दुहरुले चाहेको पार्टी भएकोले पनि हिन्दु राष्ट्र, राजसंस्था र भ्रष्टाचारमुक्त देशको लागि राप्रपा र आफू निर्विकल्प उम्मेदवार रहेको डंगोलको दावी छ ।