वीरगन्जको मुख्य सडक फराकिलो हुने निश्चित, नक्सा पासको निस्सा सहित उपस्थित हुन ३५ दिने सूचना
वीरगन्ज, २१ भदौ । लामो समयदेखि रोकिएको वीरगन्जको सडक अतिक्रमण हटाउने अभियान अन्ततः सुरु हुने भएको छ । वीरगन्जको गण्डकदेखि मितेरी पुलसम्म मुख्य सडकमा अतिक्रमण गरि बनाईएका घर टहरा हटाउन सरकारले पटक पटक प्रयास गर्दापनि असफल भएको थियो ।
यसपटक भने अतिक्रमण हट्ने निश्चित भएको छ । अतिक्रमण हटाउने तयारी गर्दा मुख्य सडकमा पर्ने घरधनीहरुले आफूहरुले मालपोत कर तिर्दै आएको जग्गाको मुआब्जा दिनुपर्ने भन्दै अदालतमा मुद्दा हालेपछि अतिक्रमण हटाउने काम रोकिएको थियो ।
महानगरपालिकाले मेनरोडको उत्तरतर्फ गण्डक चौकदेखि दक्षिण शंकराचार्य गेटसम्मको दायाँबायाँ सडक अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन सम्बन्धित घरधनीलाई निर्देशन दिएको छ ।
अतिक्रमण हटाउने सम्बन्धी ३५ दिने सूचना जारी गर्ने महानगरपालिकाको तयारी रहेको नगर प्रमुखको सचिवालयले जनाएको छ । सडकको दायाँ बायाँ निर्माण भएका घरहरूको वीरगञ्ज महानगरपालिकाबाट नक्सा स्वीकृत भए नभएको सबुत प्रमाण लिएर सूचना
प्रकाशित भएको मितिले ३५ दिनभित्र महानगरपालिका कार्यालयको भवन निर्माण तथा इजाजत शाखामा आफूसँग भएको सबुत प्रमाणसहित उपस्थित हुन आग्रह गरिने जनाएको छ ।
सडकको जग्गा अतिक्रमण गरी संरचना निर्माण गरिएको प्रमाणित भएमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम कारबाही गरिने महानगरपालिकाले जनाएको छ ।