२५६६ औं बुद्ध जयन्ती भव्य रुपमा मनाईने
वीरगन्ज, १ जेठ । शान्तिका दूत भगवान गौतम बुद्धको जन्म जयन्ती वीरगन्जमा भव्य रुपमा मनाईने भएको छ । वीरगन्ज बौद समिति र टाँसी छोर्वालिङ्ग गुम्बाको संयुक्त आयोजनामा २५६६ औं बुद्ध जयन्ती भव्य रुपमा मनाउन लागिएको हो ।
हरेक बर्ष बैशाख पूर्णिमाका दिन मनाईदै आएको बुद्ध जयन्ती यसबर्ष पनि भव्य रुपमा मनाउने तयारी गरिएको वीरगन्ज बौद्ध समितिका प्राध्यापक डाक्टर दीपक शाक्यले जानकारी दिनुभयो । बुद्ध जयन्तीको पूर्वसन्ध्यामा आईतबार वीरगन्जको धार्मिक तथा पर्यटकीय स्थल भिस्वा स्तुपामा सरसफाई गरिएको छ ।
सोमबार बिहान वीरगन्जको वीर्ता स्थित शंखधर साख्वाँको शालिकमा भेला भएर शान्ति पदयात्रा निकालिने र भिस्वा स्तुपामा पुगेर समापन गरिने उहाँले बताउनुभयो । वीर्ताबाट शुरु हुने पदयाता आदर्शनगर, माईस्थान, घण्टाघर हुदै भिस्वा स्थित स्तुपामा पुगेर औपचारिक कार्यक्रमको आयोजना गरिने छ ।
औपचारिक कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीको समेत सहभागिता रहने जनाईएको छ । बिहान पदयात्रा सहित पूजाआजा गरिने छ । सोमबार नै साँझ भिस्वा मै दीप प्रज्जवलन सहित समापन गरिने कार्यक्रम रहेको बुद्ध जयन्ती आयोजक समितिका संयोजक हरि वैद्यले जानकारी दिनुभयो ।
भिस्वा डाँडामा मनाईने बुद्ध जयन्तीमा सहभागी हुन बौद्धमार्गी तथा सबै धर्मावलम्वीहरुलाई पनि आमन्त्रण गरिएको छ ।