सखुवा प्रसौनीको गोली प्रकरण : अनुसन्धान जारी 

सखुवा प्रसौनीको गोली प्रकरण : अनुसन्धान जारी 

वीरगन्ज । बैशाख २२ गते बिहीबार पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ मा भएको गोली चलेको घटनाको अझै रहस्य खुल्न सकेको छैन ।

बिहीबार बेलुकी ९ बजेर २० मिनेटमा पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर–१ जंगल नजिकै स्थानीय मंगल बहादुर भ्लोनको घरमा गोली पडकेको जस्तो आवाज आएको खबर पाएपछि गएको प्रहरी टोलीले घटनास्थल अवलोकन गरेको थियो ।

अनुसन्धानका क्रममा मंगल बहादुर भ्लोनको बाँसको टाटीमा माटोले लिपेको बेरा भएको घरको पश्चिमपट्टिबाट प्रहार भएको गोली भ्लोनको घरको टाटी प्वाल पारेर उहाँको घर भित्र रहेको चामलको बोरा भित्र छिरेको अवस्थामा घरेलु कटुवा पेस्तोलमा लाग्ने जस्तो फलामको गोलीको टुक्रा फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

अज्ञात व्यक्तिले के–कुन हतियारबाट गोली प्रहार गरेको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । घटनामा कुनै मानवीय तथा अन्य क्षति नभएको पनि बताउनुभयो । घटना भएको ठाउँमा तत्काल कुनै झैं–झगडा, विवाद पनि नभएको  बुझिएको र मंगल बहादुर भलोन पनि सामान्य घर परिवारको ब्यक्ति रहेको बुझिएको प्रहरी नायव उपरीक्षक खनालले बताउनुभयो ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालयले अनुमति प्राप्त हतियारहरु बुझाउन यसअघि नै सूचना जारी गरिसकेको छ । निर्वाचन हुन एक हप्ता बाँकी रहँदा रहस्यमय ढंगबाट भएको गोली प्रहारको घटनाले पर्सामा सुरक्षा चुनौती अझ बढेको छ ।