शिवशक्ति समूहद्वारा वीरगन्ज महानगरपालिकालाई पौने सात लाखको खाद्यान्न सहयोग
वीरगन्ज, १८ जेठ । औद्योगिक समूह शिवशक्तिले वीरगन्ज महानगरपालिकालाई पौने सात लाख भन्दा बढीको खाद्यान्न राहतका लागि सहयोग गरेको छ । वीरगन्ज पथलैया आद्योगिक करिडोरमा रहेको शिवशक्ति समूहले कोरोना भाईरस संक्रमण (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञामा विपन्न तथा गरिब परिवारलाई राहत वितरणका लागि खाद्यान्न सामग्री सहयोग गरेको हो ।
समूहले ९ टन चामल, १ टन दाल, १ सय लिटर तेल गरी ६ लाख ८९ हजार मूल्य बराबरको खाद्यान्न महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीलाई मंगलबार उद्योगका प्रतिनिधि महेशजंग पाण्डे लगायतको टोलीले हस्तान्तरण गर्नुभयो । महामारीको संकटका बेला विपन्न गरिब परिवारलाई अभाव हुन नदिने महानगरपालिकाले विभिन्न संघ संस्था निःशुल्क भोजन वितरण गर्दै आएको छ । महानगरपालिका परिसरमा नै पुगेर उद्योगका प्रतिनिधिहरुले उक्त परिमाणको खाद्यान्न राहत स्वरुप सहयोग गरेको हो ।
महानगरक्षेत्रमा सडक पेटीमा अलपत्र परेका र निषेधाज्ञाले प्रभावित परिवारहरुलाई छाक टार्न समस्या भएकाहरुलाई साहिव दरवार सेवा संस्था, समपर्ण सेवा संस्था, रेलवे कटेज, १०० ग्रुप्स लगायतका संस्थाहरुले निःशुल्क भोजन गराई रहेका छन् । उनीहरुलाई खाद्यान्न अभाव हुन नदिन महानगरपालिकाले आवश्यक खाद्य सामग्रीहरु उपलब्ध गराउँदै आएको छ । राहत सहयोग ग्रहण गर्दै महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले महासंकटको बेला सहयोग गर्ने सहयोगी दाताहरुलाई धन्यवाद दिदै यस्तो संकटको अवस्थामा एउटाको मात्रै मुख ताकेर नहुने सबैले सकेको सहयोग गरेर कोरोनालाई परास्त गर्नुपर्ने बताउनुभयो ।
शिवशक्ति उद्योग प्रालिले गतबर्ष भएको लकडाउनमा पनि प्रभावित विपन्न परिवारका लागि खाद्य सामग्री सहयोग गरेको थियो । यसपटक पनि लामो समयसम्म निषेधाज्ञा हुँदा आर्थिक रुपमा विपन्न र दैनिक ज्यालादारीमा काम गर्ने मजदुर वर्गहरुलाई भोको बस्न नपरोस भनेर सहयोग गरेको उद्योगका प्रतिनिधि महेशजंग पाण्डेले बताउनुभयो ।