वीरगन्ज महानगरले अस्थायी कोभिड अस्पताल र आईशोलेसन सेण्टर बनाउने 

वीरगन्ज महानगरले अस्थायी कोभिड अस्पताल र आईशोलेसन सेण्टर बनाउने 

वीरगन्ज, २२ बैशाख । वीरगंज महानगरपालिकाले एक सय वेड क्षमताको अस्थायी कोभिड अस्पताल र एकसय वेड क्षमताको आइसोलेशन सेन्टर बैशाख २४ गते शुक्रवारदेखि संचालन गर्ने भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र (DCMCC) पर्साको मंगलवार बसेको बैठकले महानगरपालिकामा अस्थायी कोभिड अस्पताल र आइसोलेशन सेन्टर संचालन गर्ने निर्णय गरेको हो ।  

वीरगंजमा कोभिड संक्रमितहरुको संख्या वढदो अवस्थामा रहेको र संक्रमित व्यक्तिहरुमा अक्सिजन दिनुपर्ने अवस्था देखिएकोले वीरगंजमा रहेका अस्पतालमा उपचार गर्ने ठाउँ समेत नभएको अवस्थामा महानगरपालिकाले आफ्ना नागरिकको जीवन रक्षाका लागि कोभिड अस्पताल र आइसोलेशन सेन्टर संचालन गर्न लागेको महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले वताउनु भयो । 

वीरगंजको घडिअर्वा स्थित गोपाल मण्डली धर्मशालामा अस्थायी कोभिड अस्पताल र आइसोलेशन सेन्टर वैशाख २४ गते देखि संचालन गर्न लागिएको नगर प्रमुख सरावगीले वताउनु भयो । कोभिड अस्थायी अस्पतालमा डाक्टर सहित प्यारामेडिकल स्टाफ समेत राखेर कोभिड संक्रमितहरुको उपचार गरिनेछ । 

उहाँका अनुसार कोभिड अस्थायी अस्पतालमा अक्सिजन सहितको वेडको व्यवस्था गरिनेछ । अव होम आइसोलेशनमा रहेका विरामीहरुको लागि स्वास्थ्यकर्मीको निगरानीमा औषधी र अक्सिजन दिनुपर्ने भएकोले होम आइसोलेशनमा रहेका अक्सिजन प्रयोग गर्नु पर्र्ने विरामीहरुलाई अस्थायी कोभिड अस्पतालमा उपचारार्थ भर्ना गरिने नगर प्रमुख सरावगीले वताउनु भयो । होम आइसोलेशनमा अक्सिजन प्रयोग गरिरहेका विरामीहरुको अवस्था समेत जटिल वन्न थालेकोले डाक्टरको निगरानीमा उपचार गर्न महानगरपालिकाले कोभिड अस्पताल संचालन गर्न लागेको प्रमुख सरावगीले जानकारी दिनुभयो । 

कोभिड अस्पतालमा उपचारार्थ भर्ना भएका संक्रमितहरुलाई अक्सिजन, औषधी र खाजा, खाना समेत महानगरपालिकाले निशुल्क रुपमा उपलब्ध गराउने प्रमुख सरावगीले वताउनु भयो । वीरगज महानगरपालिकाले केही दिन अघि मात्र एम्वुलेन्स, शव वहान सेवा संचालनमा ल्याएको छ । त्यसै गरी लायन्स क्लवको साझेदारीमा कोभिड संक्रमितहरुको निशुल्क अक्सिजन सिलिण्ड उपलब्ध गराउदै आएको छ । वीरगंज महानगरपालिकाले कोभिड संक्रमितलाई वडा कार्यालय मार्फत घरघरमा औषधी वितरण गदै आएको छ । 

वीरगंजमा गत वर्ष कोभिड १९ को संक्रमण समुदाय स्तरमा फैलिए पछि महानगरपालिकाले वीरगंजवासीको उपचारको लागि वीरगंज स्थित गण्डक अस्पताललाइ भाडामा लिएर अस्थायी कोभिड अस्पताल संचालन गरेका थियो । गण्डक कोभिड अस्पतालमा ४०४ जना र महानगरपालिकाले संचालन गरेको सिद्धार्थ आइसोलेशन सेन्टरमा १२३ जना संक्रमितहरुहो उपचार गरिएको थियो ।