वीरगन्ज महानगरपालिकाद्वारा मास्क अभियान शुरु 

वीरगन्ज महानगरपालिकाद्वारा मास्क अभियान शुरु 

वीरगन्ज, १६ असोज । वीरगन्ज महानगरपालिकाले कोरोना संक्रमणबाट सुरक्षित रहन मास्क अभियान शुरु गरेको छ । युनिसेफ नेपाल, प्रदेश २ सरकारको सहयोग र बिरगंज माहानगरपालिकाको आयोजनामा दसैं तिहारमा हुने बढी भीडभाडलाई लक्षित गरी जनचेतनाका लागि आज मास्क अभियान शुरुवात गरेको हो ।

नगरप्रमुख बिजय कुमार सरावगीको प्रमुख आतिथ्यमा विभिन्न संघ संस्थाहरु र स्वयंसेवकहरुको सहभागीतामा वीरगन्ज नगर क्षेत्रमा प्रभात फेरि गरिएको थियो । प्रभाफेरीपछि बोल्दै महानगर प्रमुख सरावगीले कोरोना संक्रमणको जोखिम कायमै रहेको र धेरै मान्छेमा अब कोरोनाको जोखिम नभएजस्तै लापरवाही गर्दै हिडेकोले सचेत गराउन मास्क अभियान शुरु गरेको बताउनुभयो ।

उहाँले चाडवाड नजिकै आएको र धेरै मान्छेहरु विभिन्न स्थानबाट घर फर्किने हुँदा कोरोना संक्रमणको जोखिम रहेकोले त्यसबाट बच्नका लागि मास्क अनिवार्य गरिएको बताउनुभयो । उहाँले मास्क नलगाई सेवा लिन आउनेहरुलाई कार्यालयमा प्रवेशमा समेत रोक लगाउन सबै कर्मचारीहरुलाई आग्रह पनि गर्नुभयो ।

कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप कुमार निरौला, सामाजिक विकास तथा स्वास्थ्य महाशाखा प्रमुख अरुण कुमार महतो, नगर प्रमुखका प्रेस सल्लाहाकार गोविन्द देवकोटा लगायत महानगरपालिकाका स्वास्थ्य र सरसफाई शाखाका अधिकृत तथा कर्मचारी र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।