वीरगन्ज महानगरका प्रहरी र अग्नी नियन्त्रकलाई क्षमता अभिवृद्धि तालिम
वीरगन्ज, ६ बैशाख । वीरगन्ज महानगरपालिकाले नगर प्रहरी र अग्नी नियन्त्रकलाई विपद प्रतिकार्य सम्बन्धी क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ । महानगरपालिकाको सहकार्यमा नेपाली सेनाको चण्डी प्रसाद गण र नम्बर २ बिपद ब्यवस्थापन गणद्वारा वीरगन्ज महानगरपालिकामा चार दिने बिपद प्रतिकार्य सम्बन्धि क्षमता अभिबृद्वि तालिम शुरु भएको हो ।
तालिमको वीरगन्ज महानगरपालिकका नगर प्रमुख विजय कुमार सरावगीले गर्नुभएको छ । विपदका समयमा महानगरको प्रहरीलाई सक्रिय बनाउनका लागि क्षमता अभिवृद्धि तालिमको आवश्यकता भएकोले तालिम दिईएको महानगर प्रमुख सरावगीले बताउनुभयो । उहाँले महानगरक्षेत्रमा आईपर्ने विभिन्न विपदका घटनाहरुमा तत्काल पुगेर नियन्त्रणमा लिन र उद्दार गर्न तालिमको आवश्यकता महशुस गरेर नगर प्रहरीको क्षमता अभिवृद्धिका लागि तालिमको आयोजना गरिएको बताउनुभयो ।
नेपाली सेना र प्रदेश २ विपद व्यावस्थापन गणका प्रशिक्षकहरुले ९ जना नगर प्रहरी र ९ जना अग्नी नियन्त्रक गरी १८ जनालाई विपद प्रतिकार्य सम्बन्धी तालिम दिईरहेका छन् । तालिमको उदघाटन सत्रमा पर्साका सहायक प्रमुख जिल्ला अधिकार ध्रुव गिरी, नेपाली सेनाको चण्डी प्रसाद गणका गणपति मदनजंग राणा, पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक टिका पोखरेल, नेपाल रेडक्रस सोसाईटी पर्साका सभापति विरेन्द्रराज कडेँल लगायतको उपस्थिति रहेको थियो ।