वीरगन्ज भन्सारबाट चालू आर्थिक बर्षको २ महिनामा साढे ३२ अर्ब भन्दा बढी राजस्व संकलन
वीरगन्ज, ८ असोज । चालू आर्थिक बर्ष २०७८÷७९ को दुई महिनामा मुलुकको बीरगंज भन्सार कार्यालयले झण्डै साढे ३२ अर्ब भन्दा बढी राजस्व संकलन गरेको छ । प्रमुख भन्सार नाकाको रुपमा स्थापित वीरगन्ज भन्सार कार्यालयले चालू आर्थिक बर्षको साउन र भदौ महिनामा ३२ अर्ब ५५ करोड ३१ लाख ३० हजार रुपैयाँ राजस्व असुली गरेको हो ।
कोरोना संक्रमण नियन्त्रणमा आएसँगै आयात निर्यात बढेपछि बीरगंज भन्सार कार्यालयलाई अर्थमन्त्रालयले तोकेको लक्ष्यभन्दा पनि राजस्व असुली भएको प्रमुख भन्सार प्रशासक विश्वप्रसाद अर्यालले बताउनुभयो । वीरगंज भन्सार कार्यालयले चालू आर्थिक बर्ष २०७८/०७९ को दुई महिनामा भन्सार राजस्वतर्फ ११ अर्ब ७२ करोड ५८ लाख ९७ हजार राजस्व असुली गरेको छ भने मूल्य अभिवृद्धि करतर्फ १२ अर्ब २६ करोड ४९ लाख ६६ हजार राजस्व असुली भएको छ ।
त्यसैगरी, अन्त शुल्क तर्फ ४ अर्ब ४१ करोड ५० लाख २२ हजार असुली गरेको बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अर्यालले बताउनुभयो । त्यस्तै, बीरगंज भन्सार कार्यालयले पूर्वाधार करतर्फ २ अर्ब ७ करोड ४७ लाख ४२ हजार राजस्व उठाएको छ भने कृषि सुधार शुल्क तर्फ २२ करोड ६ लाख ९६ हजार असुली गरेको छ । यसैगरी वीरगंज भन्सार कार्यालयले सडक निर्माण तथा सम्भार दस्तुर तर्फ १ अर्ब २३ करोड ७७ लाख २८ हजार राजस्व असुली गरेको बीरगंज भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
बीरगंज भन्सार कार्यालयलाई अर्थ मन्त्रालय राजस्व विभागले दुई महिनामा २७ अर्ब ५३ करोड, ६९ लाख ३९ हजार राजस्व असुली गर्ने लक्ष्य दिएको भएपनि लक्ष्य भन्दा ५ अर्ब १ करोड ६१ लाख ९१ हजार बढी राजस्व असुली भएको बीरगंज भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ ।
भन्सार विभागले तोकेको लक्ष्यभन्दा पनि १८ प्रतिशत बढी राजस्व असुली भएको बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विश्व प्रसाद अर्यालले जानकारी दिनुभयो । चाडपर्व भित्रिने क्रम सुरु भएको र कोरोना नियन्त्रणमा आएसँगै आयात निर्यात व्यापारमा वृद्धि भएपछि वीरगंज भन्सार कार्यालयको राजस्व असुली लक्ष्यभन्दा बढी भएको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिनुभयो ।