वीरगन्जमा अत्याधुनिक रक्तसञ्चार केन्द्रको भवन बन्ने, महानगर प्रमुख सरावगीद्वारा शिलान्यास

वीरगन्जमा अत्याधुनिक रक्तसञ्चार केन्द्रको भवन बन्ने, महानगर प्रमुख सरावगीद्वारा शिलान्यास

वीरगन्ज, ९ साउन । वीरगन्ज महानगरपालिका वडा नम्बर ३ वीर्ता स्थित मालपोत चोकमा रक्तसञ्चार केन्द्रको आधुनिक भवन निर्माण हुने भएको छ । भवन निर्माण स्थलको महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले आज शिलान्यास गर्नुभएको छ ।

भवन निर्माण स्थलको शिलान्यास गर्दै महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले रक्तसञ्चार केन्द्रलाई भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन पाउँदा सबैभन्दा पुण्यको काम भएको महशुस गरेको बताउनुभयो । उहाँले रगत मानवीय जीवनको लागि अतिआवश्यक तत्व भएको र मानवीयताको दृष्टिकोणबाट पनि सबैभन्दा पूण्यको काम भएकोले महानगरपालिकाकाको १६२ जना कार्यपालिका सदस्यहरुको बैठकबाट निर्णय गरेर जग्गा उपलब्ध गराएको बताउनुभयो ।

उहाँले जग्गा उपलब्ध गराउन साथ दिनुहुने १६२ जना कार्यपालिका सदस्य तथा महानगरवासीलाई पनि धन्यवाद दिनुभयो । रक्तसञ्चार भवन निर्माणका लागि महानगरपालिकाले थप २५ लाख पनि छुट्याएको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले जानकारी दिनुभयो । त्यस्तै भवनको एउटा कोठा आफ्नो स्व.पिताको नाममा निर्माण गरिदिने घोषणा पनि गर्नुभयो ।

उहाँले बाँकी रकम आवश्यकता अनुसार थप्ने प्रयास गर्ने र अन्य दाताहरुलाई पनि सहयोगको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । रक्त सञ्चार केन्द्रले महानगरपालिकाले नै उपलब्ध गराएको करिब डेढ कठ्ठा क्षेत्रफलको जग्गामा पाँचतले अत्याधुनिक भवन निर्माण गर्न लागिएको हो ।

भवन निर्माणको लागत साढे चार करोड अनुमान गरिएको रेडक्रस सोसाईटी पर्सा शाखाका सभापति विरेन्द्रराज कडेँलले जानकारी दिनुभयो । उहाँका अनुसार भवन निर्माणका लागि आवश्यक आर्थिक स्रोत मध्य १० लाख सूर्य नेपालले दिएको, महानगरपालिकाले छुट्याएको २५ लाख बाहेक अन्य रकम भने जुटाउनुपर्ने छ ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रले पनि केही रकम सहयोग गर्ने आश्वासन दिएको बताउदै कडेँलले प्रदेश सरकार र अन्य दाताहरुबाट पनि आर्थिक सहयोग आउने अपेक्षा रहेको बताउनुभयो । रेडक्रस पर्सा शाखाका सभापति विरेन्द्रराज कडेँलको अध्यक्षतामा भएको

कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ता, नेपाल रेडक्रस सोसाईटी प्रदेश २ का अध्यक्ष पूmल महम्द मियाँ, पर्साकी उपसभापति मधु राणा, नेपाली कांग्रेसका नेता रामनारायण कुर्मी, वडा नम्बर ३ का वडा अध्यक्ष बैजु स्वर्णकार, सशस्त्र प्रहरी नायव उपरीक्षक निर्मल थापा लगायतको उपस्थिति रहेको थियो ।

यसैबीच रक्तसञ्चार सेवा दिवसको अवसरमा आयोजित रक्तदानमा सातजनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा रक्तसञ्चार केन्द्रका महामन्त्री शैलेन्द्र चौरसिया, कार्यक्रम अधिकृत उमेश मिश्र, प्राविधिक प्रमुख शौरभराज पाण्डे लगायतले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रमको नगर प्रमुख विजय कुमार सरावगी र रेडक्रसका सभापति विरेन्द्रराज कडेँलले रगत संकलन गर्ने प्याड वितरण गर्नुभएको रेडक्रसका सहायक राजन श्रीवास्तवले जानकारी दिनुभयो ।