वीरगन्जका वाणिज्य बैंकहरुमा कार्यरत अधिकांश कर्मचारी कोरोना संक्रमित
वीरगन्ज, २९ बैशाख । दोस्रो लहरको कोरोना भाइरस संक्रमण फैलिए यता वीरगञ्जका अधिकांश बैंकका कर्मचारीहरु संक्रमित भएका छन् । वीरगन्जका बैंकहरुमा कार्यरत ९१ जना कर्मचारी कोरोना संक्रमित भएका छन् । सबैभन्दा बढी एभरेस्ट बैंकका कर्मचारी संक्रमित भएका छन् । एभरेष्ट बैंकका १० जना, नविल बैंक र मेगा बैंकका ९/९ जना, नेपाल बैंकका ८ जना, ग्लोबल आईएमई बैंक र कुमारी बैंकका ६/६ जना, सिद्धार्थ बैंक, एनआईसी एसिया बैंक र एनआईबिएल बैंकका ५/५ जना कर्मचारी संक्रमित भएका छन् ।
यसैगरी सिभिल बैंक, सेन्चुरी कर्मसियल बैंक र कृषिविकास बैंकका ४/४ जना, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनसीसी बैंकका ३/३ जना, माछापुच्छ्रे बैंक, स्ट्यान्र्डड च्यार्टड बैंक र सनराईज बैंकका २/२ जना र सिटिजन्स बैंकका १ जना कर्मचारी संक्रमित भएका छन् । संक्रमितमध्ये १३ जना कर्मचारी संक्रमणमुक्त पनि भइसकेका छन् । हाल ७८ जना सक्रिय संक्रमित विभिन्न अस्पतालको आइसोलेसन तथा होम आइसोलसनमा उपचाररत छन् ।
कर्मचारीले बैंक प्रशासनसँग सतर्कता अपनाउन पटक–पटक आग्रह गरेपनि त्यसको सुनुवाई नभएको बताउँछन् । बैंकमा कार्यरत कर्मचारी पनि संक्रमित भएको अवस्थामा लगभग १ हप्तासम्म भएपनि पूर्ण रुपमा बन्द गरे चेन ब्रेक हुने संभावना रहने उनीहरुको भनाई छ । अहिले बैंकहरुले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सेवा दिईरहेका छन् ।