लेखाअधिकृत कुश्वाहाको गैरजिम्मेवारीले पर्सागढीको एक करोड बढी रकम फ्रिज, नगरको हितविपरित गर्नेलाई कानूनी कारवाही गरिने

लेखाअधिकृत कुश्वाहाको गैरजिम्मेवारीले  पर्सागढीको एक करोड बढी रकम फ्रिज, नगरको हितविपरित गर्नेलाई कानूनी कारवाही गरिने

वीरगन्ज, १२ साउन ।  पर्सागढी नगरपालिकाका लेखा अधिकृत राम कुमार कुशवाहाको गैरजिम्मेवारीका कारण पर्सागढीको एक करोड भन्दा बढीको बजेट फ्रिज हुने देखिएको छ । 

गत आर्थिक वर्षको अन्त्यसम्ममा काम सम्पन्न भएर पेश गरिएका प्रतिवेदन र बिल भर्पाई अनुसारको कागजातको आधारमा दिनु पर्ने भूक्तानी दिन नियतवस आनाकानी गरेको र सशर्त अनुदानमा आएको बजेट फ्रिज हुने अवस्था रहेको नगरपालिकाका प्रमुख लोकनारायण यादवले बताउनु भएको छ ।

नगरपालिकाको विषयमा जानकारी गराउन सोमबार पत्रकार सम्मेलन गर्दै नगर प्रमुख लोकनारायण यादवले लेखा अधिकृत कुश्वाहाले कार्यालयको गोपनियता समेत नराखेर नगरपालिकाको बदनाम गर्ने नियतले अनावश्यक सूचना प्रवाह गरेर पदीय मर्यादा समेत नराखेको भन्दै कारवाही प्रकृयामा जाने समेत जानकारी दिनुभयो । 


लेखा अधिकृतको बदनियतका कारण नगरपालिकाले कार्यदेश दिएर सम्पन्न भएका कामहरुको भूक्तानी समेत दिन नसकिएको उहाँले बताउनु भयो। शर्सत अनुदानको १ करोड भन्दा बढी रकम फ्रिज भएको समेत उहाँले जानकारी दिनु भयो । शर्सत अनुदानको काम सम्पन्न गरेर बिल भर्पाइ र प्रतिवेदन असार १४ गते नै लेखा प्रमुखलाई बुझाउदा समेत त्यसको भूक्तानी नदिइएको र भूक्तानी दिन नमिल्ने भए त्यसको बिषयमा कार्यालय प्रमुखलाई राय दिनु पर्नेमा त्यो पनि नदिएको उहाँले बताउनु भयो । 


पर्सागढी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत यादवले आफू समक्ष लिखित वा मौखिक कुनै पनिरुपमा भूक्तानी दिन नमिल्ने भन्ने राय नआएको प्रष्ट पार्नु भयो । भूक्तानी दिन नमिल्ने भनेर कुनै फाइल पनि फिर्ता नआएको उहाँले बताउनु भयो । 

 शुरुमा अधिकृत कुशवहाले बैंक खाता खोल्न समेत आनाकानी गरेको त्यसपछि कहिले बिरामी भएको, कहिले छोराको जन्मउत्सव छ भन्दै कार्यालय नआएर कार्यालयलाई असहयोग गरेको बताइएको छ । पछि पर्सागढीमा नबस्ने भन्दै सरुवाकोलागि सहमती माग गरेको र माँग अनुसार सरुवाको सहमती पनि कार्यालयले दिएपछि पुनः पर्सागढीमै रहने भन्दै आफैले दिएको निवेदन समेत कार्यालयबाट गायव गरेको कुश्वाहालाई आरोप लागेको छ । 

निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले भन्नुभयो, “कार्यालय आउदिन भनेका अधिकृत पर्सिपल्ट कार्यालयमा देखा पर्नु भयो र काम गर्छु भन्नु भयो नगरप्रमुख यादवले भन्नु भयो ठिकै छ हामीले सरुवा गर्न खोजेको होइन काम गर्नुहुन्छ भने ठिक छ भन्यौ तर उहाँले काम गर्ने भन्दा पनि अड्काउने काम ज्यादा गर्नु भयो ।”

आर्थिक बर्षको अन्त्यमा असार २४ गतेसम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तोकेको समयावधिमा पनि भुक्तानी गर्न कुनै तयारी नगरेको र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समय थप गरेर असार ३० गतेसम्मको समय दिदाँ समेत उनको असहयोगकै कारण धेरै उपभोक्ता समितिहरु अन्य साझेदारहरुले गरेको कामको भूक्तानी दिन नसक्ने अवस्था बनेको नगर प्रमुख यादवको भनाई छ । 

नगरपालिका संबिधानप्रदत बिधि प्रक्रिया र सम्बन्धित ऐन नियमका आधारमा कानून बमोजिम संचालन हुने भएको हुदाँ कुनै पनि दवावपुर्ण भुक्तानी यहाँ सम्भव नरहेको र कोहि कसैबाट दवाब नभएको नगरप्रमुख यादवले प्रष्ट पार्नुभयो । 

कुशवाहालाई संघीय मामिला मंत्रालयले पर्सागढी नगरपालिकाबाट जिल्ला समन्वय समिति पर्सामा सरुवा गरेको र सरुवा भएपछि आर्थिक हर हिसाब राख्ने सफ्टवेयर सुत्रको पासवर्ड समेत परिवर्तन गरेर नगरपालिकाको अहित हुने काम गरेको प्रमुख यादवले बताउनु भयो ।

पासवर्ड बदली भएका  कारण कति रकम फ्रिज भयो अन्य अवस्था के छ भन्ने कुरा थाहा हुन नसकेको र यस बिषयमा प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रण कार्यालय बीरगंज र महालेखा परिक्षकको कार्यालयमा समेत जानकारी गराइएको उहाँले जानकारी दिनु भयो । 


पत्रकार सम्मेलनमा पर्सागढी नगरपालिकाका प्रवक्ता एवं वडा नं ८ का वडाध्यक्ष किसुनदेव यादवले कार्यालय प्रमुखले सदर नगरेको तोक नलगाएको फाइलहरुको लेखा अधिकृत कुशवाहाले आफूखुशी चेक काटेर वार्गेनिङ गर्ने गरेको बताउनु भयो ।


जात, थर र नाताका आधारमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति भएको भन्ने भ्रमपूर्ण र झुठा समाचार र सूचना निराधार रहेको भन्दै निमित्त प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति संघीय ममिला मंत्रालयले गरेको बताएको छ । नगर प्रमुख यादवको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण भने पर्सागढी नगरपालिकाका नायव सुब्बा गिरीराज कडेलले गर्नु भएको थियो ।