राष्ट्रबैंकले श्वेतपत्र र साझा न्यूनतम कार्यक्रमपछि मात्रै मौद्रिक नीति ल्याउने
काठमाडौं, २२ साउन । नेपाल राष्ट्र बैंकले सरकारको ‘साझा न्यूनतम कार्यक्रम’ र अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गर्ने श्वेतपत्रपछि मात्रै मौद्रिक नीति ल्याउने भएको छ । राष्ट्र बैंकले अर्थ मन्त्रालयको ग्रिन सिग्नलपछि नयाँ बजेट नकुरी साउन तेस्रो साता नै मौद्रिक नीति ल्याउने तयारी गरेको थियो । तर, सरकारले यसै साता साझा न्यूनतम कार्यक्रम ल्याउने र श्वेतपत्र पनि सार्वजनिक गर्ने तयारी गरेपछि मौद्रिक नीति पुनः पछि धकेलिएको हो । अब साउन अन्तिम साता मात्रै मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंक उच्च स्रोतले बतायो ।
सरकारकै आग्रहअनुसार राष्ट्र बैंकले अर्थतन्त्रको वर्तमान अवस्था देखाउने श्वेतपत्र र ‘साझा न्यूनतम कार्यक्रम’ आएपछि मात्रै मौद्रिक नीति ल्याउने भएको हो । ‘नयाँ बजेट आउने वा नआउने रु आएमा कहिलेसम्म आउने रु भन्नेलगायत कुराको टुंगो लागेको छैन, यस्तो सन्दर्भमा बजेट कुर्न सकिँदैन भनेर यसै साता मौद्रिक नीति ल्याउने तयारी गरिएको थियो,’ स्रोतले भन्यो, ‘तर, राष्ट्र बैंक सञ्चालकहरूबीच नयाँ बजेट नकुरे पनि सरकारको साझा न्यूनतम कार्यक्रम र श्वेतपत्र कुर्ने अनौपचारिक सहमति भयो ।’ नयाँ सरकारको कुनै न कुनै ‘डकुमेन्ट’पछि मात्रै मौद्रिक नीति ल्याउने स्रोतले बतायो ।
अर्थसचिव मधुकुमार मरासिनीले बुधबार मात्रै राष्ट्र बैंकको सञ्चालकका रूपमा शपथ लिए । नयाँ सदस्यका रूपमा सचिव मरासिनी आएपछि बिहीबार राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसेको थियो । बैठकले ठोस निर्णय नगरे पनि मौद्रिक नीति साउन अन्तिम साता ल्याउने अनौपचारिक निर्णय गरेको छ ।
नयाँपत्रिकाबाट साभार...