बोक्सी कुप्रथा विरुद्धको सचेतनामूलक वृत्तचित्र प्रर्दशनी
वीरगन्ज, ९ साउन । समाजमा व्याप्त बोक्सी कुप्रथा उन्मुलनका लागि सामाजिक सचेतना फैलाउन त्यसम्बन्धी वृत्तचित्र प्रदर्शनी गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साको समुदाय प्रहरी साझेदारी अन्तर्गत समाजमा हुने अपराधहरु मध्य बोक्सी कुप्रथा जस्तो अन्धविश्वासमा परेर पनि समाजमा आपराधिक घटना हुने गरेकोले यसलाई न्यूनीकरण गर्नका लागि जनचेतनामूलक वृत्तचित्र प्रदर्शनी गरिएको हो ।
वृत्तचित्रको उदघाटन गर्दै पर्साका प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले समाजमा बोक्सी भन्ने नरहने भएपनि अन्धविश्वासका कारणले समाजमा ठूला ठूला अपराधिक घटनाहरु घटाउने गरेको बताउनुभयो । उहाँले धार्मिक ग्रन्थहरुमा दैविशक्तिलाई आह्वान गरेर सकारात्मक कामको लागि गरिने तन्त्रलाई पनि गलत ढंगबाट बोक्सीको आरोप लगाउँदा समाजमा अपराधका घटना हुने गरेकोले यसलाई नियन्त्रण र न्यूनीकरण गर्न आवश्यक रहेको बताउनुभयो ।
बोक्सी कुप्रथा उन्मूलन राष्ट्रिय जागरन अभियानले कार्यक्रमको आयोजना गरेको हो । क्लासिक बंकेटमा भएको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।