फरक शैलीको शुभकामना !  

फरक शैलीको शुभकामना !  

वीरगन्ज, २३ असोज । चाडबाडमा आयोजना गरिने शुभकामना आदान प्रदान कार्यक्रम भन्दा शुक्रबार वीरगन्जको होटल भिस्वामा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रमको शैली फरक किसिमको थियो ।

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ ले बडादशैंको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा फरक शैलीमा आयोजना गरेर नयाँपन सहित केही सन्देश पनि दिएको छ । सामान्यत : औपचारिक कार्यक्रममा सीमित हुने शुभकामना आदान प्रदान शुक्रबार भने निकै चाखलाग्दो र आकर्षित गर्ने खालको पनि थियो ।

शुभकामना आदान प्रदान एकअर्कालाई शुभकामना दिएर मात्रै सकिने गरेकोमा नेपाल उद्योग वाणिज्य संघ प्रदेश २ ले आयोजना गरेको कार्यक्रममा भने शुभकामना साटासाट मात्रै होईन नेपालको मौलिकता झल्किने स्थानीय कला, संस्कृतिका आकर्षक चित्रकलाहरुको समेत अवलोकन गरेर नयाँपनको अनुभूति गराएको छ ।

वीरगन्जका चित्रकारद्वय अजमत अली अन्सारी र मुकेश महतो नुनियाँले बनाएका चित्रकलाहरु कार्यक्रम स्थलमा प्रदर्शनमा राखिएको थियो । शुभकामना आदान–प्रदान कार्यक्रममा राखिएको स्थानीय कला संस्कृति तथा रमणीय स्थानहरुको चित्रहरुको प्रदर्शनलीले थप आकर्षण बढ़ाएको थियो ।

ललितकला विधामा प्रादेशिक प्रतिभा पुरस्कारबाट पुरस्कृत मूकेशको चित्रकला र अजमत अली अन्सारीको चित्रकलाले आमन्त्रित सबै अतिथिहरुको ध्यानाकर्षण गराएको थियो ।

शुभकामना आदान प्रदान कार्यक्रममा चित्रकला प्रदर्शनी राख्नुको उदेश्य तराईका कला संस्कृतिको सम्बद्र्धन, संरक्षण र कला प्रति आम नागरिकहरुको झुकाव बढाई कलाकारहरुको मनोबल उच्च राख्ने रहेको नेपाल उद्यो वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष गणेश लाठले बताउनुभयो ।

साहित्य र कलामा विशेष रुची राख्ने र साहित्य क्षेत्रमा स्थापित भई सकेका अध्यक्ष लाठले कलाकारहरुको चित्रकला आम चासोको विषय हुनुपर्नेमा जोड दिनुभयो ।

औपचारिक कार्यक्रमहरु सधैं भई रहने भएकोले महत्वपूर्ण पर्वहरुमा सांस्कृतिक महत्वलाई अझ बढी बढाउन प्रेरित गर्ने र कलाकालहरुको पनि पहिचानलाई स्थापित गर्नुका साथै विभिन्न मौलिक कला, संस्कृति र स्थलहरुको समेत जानकारी चित्रकला प्रदर्शनबाट गराउने एउटा अभ्यास शुरु गरिएको बताउनुभयो ।

चित्रकार मुकेश महतोले बनाएकोे चित्रमा फेब्रिक र जलरंगद्वारा हिमाल पहाड़का मनोरम दृश्य र वीरगञ्जकोे मुटु घण्टाघर र घडिअर्वा पोखरीकोे सुन्दर तस्वीर बनाइएको छ । त्यस्तै कलाकार अजमत अली अंसारीले जल रंग तथा फेब्रिक, रंगकोे संयोजनबाट बनाएको विभिन्न मानवीय संवेदना, पीड़ा हर्षोंउल्लास, प्रेम र खास गरी लोप हुँदै गएको भोजपूर संस्कृतिकोे चित्रहरु प्रदर्शनमा राखिएको थियो ।

प्रदर्शनीको अवलोकन पछि प्रदेश नं.२ का उर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्माले विविधतायुक्त नेपाली समाजका विभिन्न लोक संस्कृतिहरु अझैपनि प्रचार प्रसार, संरक्षण र सम्वद्र्धनको अभावमा ओझेलमा परेको बताउदै चित्रकला प्रर्दशनीले कलाकारको क्षमताको पनि प्रदर्शन हुने कला, संस्कृति रहन सहनको पनि आममानिसलाई जानकारी हुने भएकोले उपयोगी भएको बताउनुभयो

वीरञ्गज महानगरपालिकाका प्रमुख विजय सरवागीले शुभकामना आदान प्रदान कार्यक्रम औपचारिक हुने गरेकोमा फरक शैलीमा आयोजना गरिएको शुभकामना आदान प्रदानले नयाँपन दिएको र यसले समग्र नेपाली समाजको कला, संस्कृतिहरुको बारेमा सबैलाई जानकारी लिने अवसर समेत पाएको बताउनुभयो।

कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका अधिकारीहरु, राजनीतिक दलका प्रतिनिधिहरु, निजीक्षेत्रका उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।