पर्सामा असार ९ देखि १५ गतेसम्म ५ बर्षदेखि ११ बर्षका बालबालिकालाई खोप लगाईने
वीरगन्ज, ७ असार । पर्सा असार ९ गतेदेखि १५ गतेसम्म ५ बर्षदेखि ११ बर्ष उमेर समूहका बालबालिकालाई कोरोना विरुद्धको फाईजर खोप लगाउने भएको छ । खोप अभियान सञ्चचालनको लागि जिल्ला स्वास्थ्य कार्यालय पर्साले ५ बर्षदेखि ११ बर्ष उमेरका बालबालिकालाई लगाईने कोरोना विरुद्धको फाईजर खोप सम्बन्धी पुनर्ताजगी तालिम आयोजना गरेको छ ।
स्थानीय तहका स्वास्थयकर्मीहरुलाई बालबालिकालाई लगाईने फाईजर खोपको बारेमा जानकारी गराउने र लगाउने तरिकाको विषयमा तालिम दिईएको हो । वीरगन्जको ओम पार्टी प्यालेसमा आयोजना गरेको मंगलबारको पुर्नताजगी तालिममा पर्साको पोखरिया नगरपालिका, पर्सागढी नगरपालिका, कालिकामाई गाउँपालिका, पकाहमैनपुर गाउँपालिकाका स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षण दिईएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिनुभयो ।
बुधबार वीरगन्ज महानगरपालिका, धोविनी गाउँपालिका, छिपहरमाई गाउँपालिका र सखुवा प्रसौनी गाउँपालिकाका स्वास्थ्यकर्मीहरुलाई तालिम दिईने ठाकुरले बताउनुभयो । असार ९ गतेदेखि १५ गतेसम्म लगाईने खोप अभियानका लागि पर्साका १४ वटै स्थानीय तहका ४०२ जना स्वास्थ्य चौकी इन्चार्ज, स्वास्थ्यकर्मी र खोप कार्याकर्तालाई तालिम दिईएको हो ।
पर्सामा रहेका १ लाख १ हजार ७५ जना बालबालिकाको जनसंख्याको आधारमा खोप लगाईने जनस्वास्थ्य अधिकृत ठाकुरले बताउनुभयो । उहाँका अनुसार बालबालिकाका लागि लगाईने फाईजर खोप ९१ प्रतिशत सफल रहेकोले सबैले आफ्ना बालबालिकाहरुलाई ढुक्कसँग फाईजर खोप लगाउन आग्रह गर्नुभएको छ ।
तालिम पश्चात जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख नवलकिशोर साहले कोहीपनि बालबालिका खोपबाट बञ्चित नहोस भनेर विद्यालयमा खोप केन्द्र बनाएर खोप अभियान शुरु गरेको र विद्यालय नजाने बालबालिकाहरुको लागि पनि नजिकैको खोप केन्द्र अथवा विद्यालयमा नै खोप दिने व्यावस्था पनि गरिएको बताउनुभयो । उहाँले स्वास्थ्यकर्मीहरुले पनि कोही बालबालिका खोपबाट नछुटाउन निर्देशन दिनुभयो ।