नेपाली कांग्रेस पर्सामा संस्थापन पक्षका जनार्दन सिंह क्षेत्रीको प्यानल नै विजयी
वीरगन्ज, २० फागुन । नेपाली कांग्रेस पर्साको सभापतिमा संस्थापन पक्षका जनार्दन सिंह क्षेत्रको प्यानल नै विजयी भएको छ । बिहीबार भएको मतदानको राति अबेर आएको मतरिणाम अनुसार क्षेत्रीको प्यानल नै विजयी भएको हो ।
क्षेत्रीले १११० मत ल्याएर विजयी हुनु भएको हो । उहाँका प्रतिस्पर्धी श्याम पटेलले ६४५ मत ल्याउनु भएको छ । क्षेत्री र पटेलको मतान्तर ४६५ छ ।
त्यस्तै उपसभापतिमा क्षेत्री प्यालनका रामनारायण कुर्मी १२३५ र अशोक कुमार गुप्ता ११०२ मत ल्याएर विजयी हुनुभएको छ । संस्थापन इतरका डा.कृपासिन्धु चौधरीले ४८५ मत र राजु कुमार गुप्ताले ४८३ मत ल्याउनु भएको छ ।
सचिवमा संस्थापन पक्षका इम्तियाज आलमले ११८७ र दिनेश कुमार चौधरीले ११५९ मत ल्याएर विजयी हुनुभएको छ । उहाँहरुका प्रतिस्पर्धी संस्थापन इतरका विश्वराज घिमिरे ४६५ र विरेन्द्र यादवले ५९७ मत पाउनुभएको छ ।
त्यसैगरी सहसचिवमा नविन कुमार सिंह १२५३ र मदन राउत अहिरले ११११ मत ल्याएर विजयी हुनुभएको छ । संस्थापन इतर प्यालनका सहसचिवहरु लुकमान अन्सारी ४५२ र दिलिपराज कार्कीले ४८२ मत ल्याएर पराजित हुनुभएको छ ।
क्षेत्रीको प्यानललाई नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय रमेश रिजाल र अजय चौरसिया, पूर्व मन्त्री सुरेन्द्र चौधरी, संविधानसभा सदस्य अनिल रुंगटा लगायतका नेताहरुको समर्थन रहेको थियो ।
संस्थापन इतरका श्याम पटेललाई निवर्तमान सभापति तथा संविधानसभा सदस्य अजय कुमार द्विवेदी, पूर्व जिल्ला सभापति तथा संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्यको समर्थन रहेको थियो ।
यसअघि वीरगन्ज महानगरपालिकामा अमात्य र द्विवेदी समूहबाट उम्मेदवार बनेका मणिन्द्रलाल नेपाली विजयी भएपछि कांग्रेस पर्साको समिकरणमा पनि फेरबदल आउन सक्ने अनुमान गरिएको थियो ।