नेपाली कांग्रेसको वीरगन्ज महानगर र पर्सागढी नगरपालिकाको उम्मेदवारी दर्ता आज हुदै 

नेपाली कांग्रेसको वीरगन्ज महानगर र पर्सागढी नगरपालिकाको उम्मेदवारी दर्ता आज हुदै 

वीरगन्ज, १२ फागुन । नेपाली कांग्रेसको महानगर र नगर अधिवेशन अन्तर्गत आज उम्मेदवारी दर्ता हुदैछ । वीरगन्ज महानगरपालिका र पर्सागढी नगरपालिकाको नगर समिति निर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता हुदैछ । बिहीबार उम्मेदवारी दर्ता र फागुन १४ गते शनिवार निर्वाचन हुने भएको हो ।

पर्सा जिल्लाको अधिवेशन भने फागुन १६ गते हुने भएको छ । त्यसको लागि फागुन १५ गते जिल्ला कार्यसमितिका लागि उम्मेदवारहरूको नाम दर्ताको कार्यक्रम रहेको छ । नेपाली कांग्रेस वीरगंज महानगर समितिको अध्यक्षमा दीपेन्द्र चौहान, जीतेन्द्रपुरूष ढकाल, मणिलाल नेपाली र विजय सिंहको दाबेदारी रहेको छ । यसैगरी, नेपाली काङ्ग्रेस पर्सागढी नगरसमितिको पदाधिकारी चयनका लागि पनि उम्मेदवारी दर्ता हुदैछ ।

नगर सभापतिमा ९ जनाको नाम आएकोमा त्यसमा सहमति जुटाउन मंगलबार र बुधबार गरिएको छलफलमा सहमति जुट्न नसकेपछि निर्वाचनका लागि उम्मदवारी दर्ताको कार्यक्रम राखिएको हो । सभापतिका लागि जंग बहादुर दास थारु, हरिनारायण दास थारू, मेघराज यादव, शङ्कर रायभर, घनश्याम चौधरी, राजेश्वर यादव, विश्वमोहन दास थारू, अच्छेलाल प्रसाद यादव, रामराज चौधरीको दावेदारी रहेको छ ।

पर्सागढी नगरपालिकाको बढनियारमा क्षेत्रीय प्रतिनिधिहरूको भेलाबाट सहमतिको प्रयास गरिएको थियो । तर, सहमति भने जुट्न सकेन । यस्तै फागनु १६ गते हुने जिल्लाको निर्वाचनमा नेपाली कांग्रेस पर्साको जिल्ला सभापतिमा जनार्दन सिंह क्षत्री, श्याम पटेल, रामनारायण कुर्मी र लक्ष्मीनाथ नेपालले उम्मेदवारी दिने चर्चा छ । वर्तमान सभापति अजयकुमार द्विवेदीले यसअघि नै नलड्ने उद्घोष गरिसक्नु भएको छ ।

पर्साको महानगर र जिल्ला अधिवेशन १४ औं महाधिवेशन अगावै हुन सकेको थिएन र महाधिवेशनपछि गर्ने भनिए पनि विभिन्न कारणले सर्दै आएको छ । केन्द्रीय निर्वाचन समितिले फागुन १६ गतेसम्म बाँकी रहेका १६ जिल्लाको अधिवेशन र यही अवधिमा बाँकी रहेका नगर, महानगर, वडा, क्षेत्रको निर्वाचन सक्ने गरी कार्यसूची सार्वजनिक गरेको र सोहीअनुरूप पर्सा जिल्लामा बाँकी निर्वाचनहरू गर्ने कार्यसूची बनेको छ ।