नेकपा एमाले पर्सामा असन्तुष्टि भुसको आगो जस्तै सल्किदै
वीरगन्ज । एमालेमय बनेको पर्सामा आन्तरिक असन्तुष्टि भुसको आगोजस्तै सल्किएको छ । टिकट वितरणमा अनसन्तुष्टि जनाउदै पार्टी परित्याग गर्नेहरु मात्रै नभई निष्ठाको राजनीति गरेर बसेका एमाले नेता कार्यकर्ताहरुमा आन्तरिक रुपमा चरम असन्तुष्टि देखिएको छ ।
राजेशमान सिंहलाई नेकपा एमालेमा प्रवेश गराउने तयारीदेखि नै एमाले पर्साभित्र दुई खेमामा विभाजित भएका छन् । त्यसैकारणले राजेशमान सिंहलाई एमालेमा प्रवेश नपाएको बताईएको छ । राजेशमान सिंह पार्टी अध्यक्ष केपी ओलीलाई बालकोटमा भेटेर आएपछि वीरगन्जमा भव्य कार्यक्रम गरेर पार्टी प्रवेश गर्ने तयारी गरिरहँदा उहाँलाई पार्टीमा आउन नदिने पक्षले पर्सामा पार्टी प्रवेश कार्यक्रमको मिति पटक पटक सारेको थियो ।
त्यसपछि विजय कुमार सरावगी अचानक पार्टी प्रवेश गरेपछि राजेशमान सिंहलाई ल्याउन नचाहनेहरुको उद्देश्य पूरा भएपनि पार्टीमा भने आन्तरिक विवाद चुलियो । नेकपा एमालेमा सरावगीको प्रवेशपछि फेरी सरावगीलाई प्रवेश गराउन नचाहनेहरु रुष्ट भए । उनलाई पार्टीमा प्रवेश गराएदेखि सार्वजनिक कार्यक्रमहरुमा सरावगी हावी हुन थालेपछि पार्टीमा एकपक्ष असन्तुष्ट भएका हुन् ।
सरावगीको एमाले प्रवेशपछि वीरगन्ज महानगरपालिकाका सचिव सुन्दर कुर्मी सबैभन्दा बढी रुष्ट हुनुभएको छ । तथापि पार्टीको विधि र प्रकृया अनुसार महानगरपालिकाको मेयरका लागि प्रस्ताव भने उहाँले नै गर्नुभएको हो । एमालेले पार्टीको टिकट वितरणमा सन्तुलन मिलाउन नसक्दा पूराना एमाले नेताहरुभित्रै चरम असन्तुष्टि देखिएको छ ।
वीरगन्ज महानगरपालिकाको वडा नम्बर ४, ११ र १२ का सुदिप लामा, सतिससिंह राजपुत र मुहम्मद अन्सारीले पार्टी नै परित्याग गरेका छन् । भने वडा नम्बर ३ मा प्रेस चौतारीका केन्द्रीय सदस्य समेत रहनुभएका पत्रकार शत्रुघ्न नेपालको वडा अध्यक्षमा नाम चर्चामा रहेपनि पार्टीले सुशील कण्ठ (बमबम) लाई टिकट दिएपछि एमालेका नेता कार्यकर्ताहरु थप रुष्ट भएका छन् ।
एमाले छोडेर नेकपा माओवादी केन्द्रबाट वडा नम्बर १२ को अध्यक्षमा उम्मेदवार दिनुभएका महम्मुद अन्सारी भन्नुहुन्छ, ‘नेकपा एमालेमा पुँजीपतिहरु हावी भए । पैसावालाहरु हावी भएपछि हामी जनताको काम गर्नेले बस्ने ठाउँ पाएनौं । परिवारवादले हामीलाई अवसर नै पाउने अवस्था रहेन त्यसैले एमाले छोडियो ।’ बाहिरी रुपमा व्यक्त गर्न नसकेका नेता कार्यकर्ताहरुले बैशाख ३० गते हुने निर्वाचनको पर्खाइमा छन् ।
कतिपय नेता कार्यकर्ताहरुले सामाजिक सञ्जालमा पनि आफ्ना असन्तुष्टि व्यक्त गरेका छन् । कतिपयले भने पार्टीले सिद्धान्त र विचार भन्दा व्यक्ति र पैसालाई बढी प्राथामिकता दिएको बताएका छन् । नेकपा एमालेका एक कार्यकर्ताले भने, ‘एमालेमा अब विचार भन्ने कुरा रहेन । पैसा र व्यक्ति महत्वपूर्ण रह्यो ।’