देश बनाउने संसदले लिए ३५ लाख भन्दा बढी उपचार खर्च, देशको स्वस्थ्य उपचार कहिले होला ?
वीरगन्ज, २९ कार्तिक । संघीय संसद् अन्तरगत प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूले १६ महिनामा ३५ लाख २३ हजार ५ सय ७४ रूपमा औषधी उपचार खर्च भुक्तानी लिएका छन् ।
२०७७ साल साउनदेखि २०७८ साल कार्तिक १५ गतेसम्म प्रतिनिधि सभाका ४४ सांसदले कूल २७ लाख ४३ हजार २ सय ६७ रुपैयाँ र राष्ट्रिय सभाका १५ सांसदले ७ लाख ८० हजार ३ सय ७ रुपैयाँ संघीय संसद् सचिवालयबाट औषधी उपचार बापतको खर्च लिएका छन् ।
संसद् सचिवालयबाट प्राप्त गरेको विवरण अनुसार आर्थिक वर्ष २०७७/०७८ अर्थात् २०७७ साउनदेखि २०७८ असार मसान्तसम्म प्रतिनिधि सभाका सांसदहरूले २१ लाख ९४ हजार ८ सय २५ रुपैयाँ उपचार खर्च लिएका छन् ।
सोही अवधिमा राष्ट्रिय सभाका सांसदहरूले ७ लाख ३० हजार १ सय १७ रुपैयाँ गरी कूल २९ लाख २४ हजार ९ सय ४२ रुपैयाँ उपचार खर्च भुक्तानी लिएका छन् । यस्तै यही आर्थिक वर्षको साउनदेखि गत कार्तिक १५ गतेसम्म साढे ३ महिनामा प्रतिनिधि सभाका सांसदहरूले ५ लाख ४८ हजार ४ सय ४२ रुपैयाँ र राष्ट्रिय सभाका सांसदहरूले
५० हजार १ सय ९० रुपैयाँ गरी कूल ५ लाख ९८ हजार ६ सय ३२ रुपैयाँ औषधी उपचार खर्च भुक्तानी लिएका छन् । १६ महिनाभित्र सांसदहरूले लिएको औषधी उपचार खर्च हेर्दा ८ सय रुपैयाँदेखि साढे ४ लाख रुपैयाँसम्म खर्च भुक्तानी भएको हो ।