ट्रिब्यून प्रा.लि.का डा.चौधरी वीरगन्ज महानगरपालिकाको श्वेत पत्र तर्जुमा समितिको संयोजकमा नियुक्त
वीरगन्ज, १ असार । वीरगन्ज महानगरपालिकाले श्वेत पत्र जारी गर्नका लागि डाक्टर दिपेन्द्र कुमार चौधरीको संयोजकत्वमा नौ सदस्यीय श्वेत पत्र तर्जुमा सहिति गठन गरेको छ । महानगरपालिकाले डाक्टर दीपेन्द्र कुमार चौधरीको संयोजकत्वमा नौ सदस्यीय श्वेतपत्र तर्जुमा समिति गठन गरेको हो ।
वीरगन्ज महानगरपालिकाको वास्तविक अवस्थाको जानकारी महानगरवासीहरुलाई दिनको लागि महानगरपालिकाले श्वेत पत्र जारीगर्न लागेको हो । वीरगञ्ज महानगरको आर्थिक, शैक्षिक, सामाजिक, पूर्वाधार विकास, स्वास्थ्य क्षेत्र तथा विभिन्न परियोजनाहरुको वर्तमान अवस्था लगायत विषयलाई समेटेर श्वेतपत्र जारी हुने नगर प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो ।
वीरगन्ज महानगरपालिकाको श्वेतपत्र २०७९ तर्जुमा गर्नका लागि डाक्टर चौधरी संयोजकत्वमा संदीप रौनियार, वासुलाल कर्ण, सत्यराज घिमिरे, अरविन्दलाल कर्ण, हरिशंकर प्रसाद कुर्मी, रुपनारायण राउत, राम कुमार कुश्वाहा सदस्य रहने गरी समिति गठन गरेको छ । समितिको सदस्य सचिवमा महानगरका कानून अधिकृत इश्वर बराल रहने महानगर प्रमुख सिंहको सचिवालयले जनाएको छ ।
समितिले आवश्कयता अनुसार विज्ञहरुलाई आमन्त्रण गरी सहयोग लिन सकिनेपनि जनाएको छ । समितिलाई श्वेतपत्र तर्जुमा गरी सातदिन भित्र महानगरपालिकामा पेश गर्न समयसीमा तोकिएको छ । महानगरपालिकाले गरेका र बाँकी रहेका कामहरुको अवस्था जस्ताको तस्तै आमनागरिकलाई जानकारी गराउनका लागि श्वेतपत्रले महत्वपूर्ण भूमिका खेल्ने समितिका संयोजक डाक्टर चौधरीले बताउनुभयो ।
उहाँले नगरप्रमुख सिंहले आफूलाई विश्वास गरेर श्वेतपत्र तर्जुमा समितिको संयोजकको जिम्मेवारी दिएकोमा धन्यवाद ज्ञापन गर्दै आफूले पाएको जिम्मेवारी निर्वाहमा कुनै कमी हुन नदिने बताउनुभयो ।