सवारी कारवाहीको लागि महानगर प्रमुखद्वारा ह्वील लक हस्तान्तरण
वीरगन्ज, २२ साउन । वीरगन्ज महानगरपालिकामा बर्षौदेखि ट्राफिक व्यावस्थापन चुनौती बन्दै आएको छ । अव्यवस्थित सहरी विकास, मापदण्ड विपरितका घर निर्माण तथा जथाभावी सवारी पार्किङ र निर्माण सामग्रीले सडक अतिक्रमण गर्दा महानगरमा सवारीको चाप बढेर ट्राफिक व्यावस्थापनमा चुनौती भएको हो ।
महानगरपालिकाले ट्राफिक व्यावस्थापनका लागि सवारी पार्किङको समेत व्यावस्था गर्दैछ । तर, समाजका केही गलत तत्वहरुले महानगरले पार्किङको व्यावस्था नगरेको बहानामा जथाभावी पार्किङ गरिदिँदा सडक जाम हुने गरेको छ । त्यसैले यसको व्यावस्थापनका लागि महानगरपालिको जथाभावी पार्किङ गर्ने सवारीसाधनलाई कारवाही गर्न ट्राफिक प्रहरीलाई ह्वील लक हस्तान्तरण गरेको छ ।
वीरगंज महानगरपालिकाको बजार क्षेत्र र बाइपास रोड तथा मेन रोडमा अनाधिकृत रुपमा दिनहुँ गरिने गाडी पार्किङलाई नियन्त्रण गर्नको लागि वीरगंज माहानगरपालिकाको तर्फबाट नगरप्रमुख बिजय कुमार सरावगीले व्हिल लक १५ थान हस्तान्तरण गर्नु भएको छ। महानगरपालिकाको सवारी व्यावस्थापन तथा ट्राफिक व्यावस्थापनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई १५ थान ह्विल लक हस्तान्तरण गर्नुभएको महानगर प्रमुखको सचिवालयले जानकारी गराएको छ ।