जोगीले गरे हेलिकप्टर चाटर्ड गरेर विवाह
वीरगन्ज, १७ मङ्सिर । जोगी (योगी) सामान्य शब्दमा केही नभएको भन्ने बुझिन्छ । अर्थात जोगी भनेको सन्यासी सबै घर परिवार, सम्पत्ति त्यागेर सन्यासी जीवन बिताउनेलाई भन्ने गरिन्छ । बाराको सिम्रौनगढ नगरपालिकाका जोगी नाम गरेका एकजनाले हेलिकोप्टर चार्टर्ड नै गरेर छोराको विवाह गर्नुभएको छ ।
नाम जोगी रहेको उहाँ बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न व्यापारी हुनुहुन्छ । सिम्रौनगढ नगरपालिका–१० देवापुर टेटाका साहले २१ वर्षीय छोरा बिर्जु साहको विवाहका लागि हेलिकोप्टर चार्टर्ड गर्नुभएको हो ।
बिर्जुको रौतहटको गरुडास्थित जोगिन्द्र साह तेलीकी छोरी सङ्गीता साह तेलीसँग बिहीबार विवाह सम्पन्न भएको हो । जोगीले तीन लाख ८० हजार तिरेर हेलिकोप्टर चार्टर्ड गर्नुभयो ।
छोराले बिहेमा हेलिकोप्टर चढेर जाने इच्छाएकाले चार्टर्ड गरेको दुलाहाका बुबा जोगीले बताउनुभयो । हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि आफूलाई पनि बिहेमा हेलिकोप्टर चढ्ने इच्छा जागेको बेहुला बिर्जुले बताउनुभयो ।