कर्जाको पुनरसंरचना र पुनरतालिकरण मौद्रिक नीतिबाट गरिने
वीरगन्ज, २१ साउन । नेपाल राष्ट्र बैंकले कोभिडको प्रत्यक्ष असर कायम रहेसम्म ती क्षेत्रलाई कर्जाको पुनरसंरचना र पुनरतालिकरणलाई निरन्तरता दिने भएको छ । केन्द्रीय बैंकका गभर्ननर महाप्रसाद अधिकारीले मौद्रिक नीतिमार्फत् सो व्यवस्था गरिने बताउनु भएको छ ।
बजेटमा केही संसोधन हुने सम्भावना रहेकोले मौद्रिक नीतिमा पनि ढिलाई भएको छ । प्रतिनिधिसभाको अर्थसमितिमा बोल्ने क्रममा गभर्नर अधिकारीले कोभिडको दोस्रो लहर र निषेधाज्ञाको असरको कारण म्याद थप गर्नुपर्ने बताउनु भएको हो । उहाँले भन्नुभयो, “महामारी प्रभावित क्षेत्र तथा व्यवसायलाई सहुलियत दिँदै मौद्रिक नीतिमा सजकता अपनाउनु आवश्यकता देखिएको छ ।”
कोभिडको दोस्रो लहर र निषेधाज्ञाको असर स्वरुप व्यवसायमा परेको समस्या सम्बोधन गर्न ऋणको नवीकरण तथा पुनसंरचना लगायतका विषयलाई प्रभावको आधारमा निरन्तरता दिनुपर्ने देखिएको उहाँको भनाई छ । चालु आर्थिक वर्षमा वित्तीय क्षेत्रको विकास रणनीति र नेपाल राष्ट्र बैंकको चौथो रणनीतिक योजना तयार गर्नु पर्ने भएकोले वित्तीय क्षेत्रको दिगो तथा समावेशी र प्रविधि सहितको विकासका लागि प्राथमिकता दिनुपर्ने जोड दिनुभयो ।
व्यापार घाटा र शोधान्तरमा चाप न्यूनिकरण गर्न विलासिला र अनावश्यक वस्तु आयातमा नियन्त्रण गर्दै आयात प्रतिस्थापनमा जोड दिनुपर्ने पनि उहाँको भनाइ थियो ।