कटौती गरिएका सार्वजनिक विदाहरु पुनः दिने सरकारको निर्णय
ट्र्रिब्यून न्युज
चैत १० वीरगन्ज । सरकारले आउँदो वर्ष २०७८ सालको बिदाको सूची सार्वजनिक गरेको छ । प्रधानमन्त्री केपी ओलीले पहिलो कार्यकालमा कटौती गरेको सार्वजनिक विदाहरु अहिले आफ्नो दोश्रो कार्यकालको सत्ता टिकाउनलाई भने दिने निर्णय गरेको छ । ओलीले प्रधानमन्त्रीको कुर्सीबाट जानुपर्ने बाध्यात्मक अवस्था आएपछि संसद विघटन गरेर असंवैधानिक कदम चालेपछि सर्वत्र विरोध हुनथालेपछि अहिले सबैलाई रिझाउनका लागि भएपनि आफ्नै पहिलो कार्यकालमा कटौती गरिएका विदाहरु आउँदो २०७८ सालमा दिने निर्णय गरेको छ ।
राजपत्रमा प्रकाशित सूचनाअनुसार अब पर्व बिदाको रुपमा सात दिन बिदा हुने भएको छ । कटौती भएका केही पर्वमासमेत बिदा दिने निर्णय भएको सरकारले जनाएको छ । प्रकाशित सूचनाअनुसार वैशाख १ गते नयाँ वर्ष, रक्षाबन्धन, दशैँको घटस्थापना, छठ पर्व, माघे संक्रान्ति अर्थात माघी पर्व, महाशिवरात्रि र फागु पूर्णिमाको दिनमा समेत बिदा दिने निर्णय भएको हो ।
यस्तै विभिन्न जाति विशेषलाई उनीहरुको जातीय पर्वको दिन बिदा दिने निर्णय भएको छ । किराँत, राईहरुको उभाैली पर्व, चण्डी पूर्णिमालगायतका पर्वमा सार्वजनिक बिदा हुने भएको छ । यस्तै गौरा पर्व, इस्लाम धर्मालम्बीहरुको इद उल फित्र, इद उल अजहा, क्रिसमस डे, तमु ल्हाेसारलगायत विभिन्न ल्हाेसार पर्वमा पनि बिदा हुने भएको छ । यस्तै महिला कर्मचारीका लागि वर्षमा दुई दिन, शिक्षण संस्थाहरूका लागि एक दिन, जात्राका लागि चार दिन, दशैँ बिदा पाँच दिन, तिहार बिदा चार दिन, दिवस बिदा ६ दिन र जन्मजयन्ती बिदा तीन दिन हुने भएको छ ।