आईपिएल क्रिकेटमा बैंग्लोर र दिल्लीको जित 

आईपिएल क्रिकेटमा बैंग्लोर र दिल्लीको जित 

ट्रिब्यून न्युज 
वीरगन्ज, ६ बैशाख । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलोर र दिल्ली क्यापिटल्स विजयी भएका छन् । रोयल च्यालेन्जर्स बेङ्गलोरले लगातार तेस्रो जित निकालेको छ । आईतबार दिउँसो भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सलाई ३८ रनले हराउँदै बेङ्गलोरले अपराजित यात्रामा रहेको छ ।

चेन्नईमा भएको खेलमा बेङ्गलोरले दिएको २०५ रनको लक्ष्य पछ्याउदै कोलकाताले २० ओभरमा आठ विकेट गुमाएर १६६ रन मात्रै बनाएपछि खेल बैंग्लोरले जितेको हो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बेङ्गलोरले २० ओभरमा चार विकेट गुमाएर २०४ रन बनाएको थियो । यो जितसँगै बेङ्गलोर ६ अङ्कसहित शीर्ष स्थानमा पुगेको छ । कोलकाता दुई अङ्कसहित छैटौँ स्थानमा छ ।

यसैबिच आइपिएलमै आईतबार राति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । ओपनर शिखर धवनको उत्कृष्ट ब्याटिङको सहयोगमा दिल्ली क्यापिटल्सले पन्जाब किंग्समाथि ६ विकेटको सानदार जित निकालेको हो । १ सय ९६ रनको लक्ष्य दिल्लीले १८.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९५ रन बनाएको थियो । आइपिएलमा आज चेन्नइ सुपर किंग्स र राजस्थान रोयल्स बिचको खेल हुनेछ ।