अन्ततः अर्थमन्त्री शर्माले दिए राजिनामा 

अन्ततः अर्थमन्त्री शर्माले दिए राजिनामा 

वीरगन्ज, २२ असार । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्दै विवादमा पर्नुभएका अर्थमन्त्री जनार्दन शर्माले राजिनामा दिनुभएको छ । आर्थिक वर्ष २०७९र८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गराएको आरोपबारे छानबिन गर्न संसदले संसदीय विशेष समिति बनाए लगतै शर्माले राजीनामा दिनुभएको हो । 

बजेट निर्माणका आफूले कुनै गल्ती नगरेको मन्त्री शर्माको दाबी छ । विगतमा अर्थमन्त्रीमाथि प्रश्न उठेर छानबिन हुँदा राजीनामा नदिएको भन्दै  शर्माले भन्नुभयो, ‘मैले गल्ती गरेको छैन, तपाईंहरुको आवाजलाई सम्मान गर्दै राजीनामा दिएको छु ।’

राजनीतिक प्रतिशोधको पराकाष्ठा 

सदनमा सम्बोधनका क्रममा शर्माले बजेट निर्माणमा कुनै त्रुटि नभएको जिकिर गर्दै आफ्नो राजिनामा माग गर्नु राजनीतिक प्रतिशोधको पराकाष्ठा भएको बताउनुभयो । तोकिएका अधिकारिक व्यक्तिहरुमार्फत बजेट निर्माणमा करको दररेट हेरफेर गर्ने सन्दर्भमा दुई सचिव र डिजीहरुलाई नितिगत निर्देशन दिएको बताउनुभयो । 

राजनीतिक रुपमा आफूलाई बद्नाम गर्न खोजिएको भन्दै उनले छानबिन गर्न चुनौती दिनुभयो । उहाँले आफूले कुनै अमुक उद्योगीको स्वार्थका लागि करको दर हेरफेर नगरेको बताउनुभयो । केपी ओलीको पालामा स्वास्थ्य सामग्री आयातमा भएको भ्रष्टाचार, ओम्नी काण्ड लगायतका घटनाको विषय उठान गर्दै आफूले त्यस्तो गल्ती नगरेको बताउनुभयो ।