नेकपा प्रचण्ड माधव समूहको महानगरमा ६ वटा वडाको तयारी भेला सम्पन्न

नेकपा प्रचण्ड माधव समूहको महानगरमा ६ वटा वडाको तयारी भेला सम्पन्न

वीरगन्ज, २२ पुस । आन्तरिक विवादपछि दुई समूहमा विभाजित नेकपाको प्रचण्ड–माधव समूहको तयारी भेला सम्पन्न भएको छ । वीरगन्ज महानगरपालिकाको ६ वटा वडाको वडा स्तरीय तयारी भेला बुधबार सम्पन्न भएको हो । वीरगन्ज महानगरपालिकाको वडा नम्बर २१, २८, २९, ३०, ३१ र ३२ को भेला विभिन्न स्थानमा आयोजना गरिएको थियो ।

लिपनीवीर्ता, वगही, वस्डिलवा, वेलवा, लालपर्सा र चोर्नीमा भेला सम्पन्न भएको हो । महानगर अध्यक्ष रहबर अन्सारीको अध्यक्षतामा भएको भेलामा प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य एवं महानगर इन्चार्ज दिनेश राई रहनु भएको थियो । केन्द्रीय सदस्य राईले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको नासो संसदलाई असंवैधानिक तरिकाले विघटन गरेर हत्या गरेको बताए ।

कार्यक्रममा नेकपाका प्रदेश कमिटि सदस्य बालगोपाल थापा, संविधानसभा सदस्य विचारी यादव, युवा नेता अरविन्द सिंह, जिल्ला सदस्यहरु नन्दकिशोर पञ्जियार, प्रभु यादव, लज्जा रेग्मी, उमेश पटेल र गजाधर पटेल लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । वडा नम्बर ३१ का अध्यक्ष अमानत अन्सारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य मञ्जुर आलमले गर्नुभएको थियो।