थारु पत्रकार संघद्वारा प्रहरी निरीक्षक शंकर चौधरीलाई सम्मान तथा विदाई 

थारु पत्रकार संघद्वारा प्रहरी निरीक्षक शंकर चौधरीलाई सम्मान तथा विदाई 

ट्रिब्युन न्युज
वीरगन्ज, ५ बैशाख । जिल्ला प्रहरी कार्यालय पर्साबाट सरुवा भएर गएका प्रहरी निरीक्षक शंकर चौधरीलाई थारु पत्रकार संघ पर्साले सम्मान तथा विदाई गरेको छ । पर्सामा क्रियाशील थारु पत्रकार संघ तथा थारुसँग सम्बन्धित विभिन्न संघ संगठनले प्रहरी निरीक्षक चौधरीलाई शनिबार सम्मान सहित विदाई गरेको छ ।

एकबर्ष अघि जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा भएर आउनुभएका चौधरीको बाराको इलाका प्रहरी कार्यालय निजगढमा सरुवा भएको हो । उहाँले पर्सामा रहँदा शान्ति सुरक्षामा अहोरात्र खटिएर समाज र देशको सुरक्षाको सफलतापूर्वक जिम्मेवारी निर्वाह गरेर थारु समुदायको शीर उच्च बनाएको र देशको लागि समेत कर्तव्यनिष्ठ भएर काम गरेबापत उहाँलाई सम्मान गरिएको थारु पत्रकार संघका सदस्य शेखर चँैधरीले बताउनुभयो ।

सम्मान र विदाई समुदायको संस्कार भएकोले शंकर चौधरीले आफ्नो कार्यकालमा जिम्मेवारपूर्ण कर्तव्य पालना गरेको भन्दै थारु संघ संस्थाहरुले सम्मान गरेको हो । थारु पत्रकार संघ पर्साका कोषाध्यक्ष शम्भु चौधरी थारुको अध्यक्षतामा थारु छात्रावासमा भएको कार्यक्रममा थारु छात्रावासका अध्यक्ष रामकृष्ण चौधरी, नेपाल आदिवासी जनजाति पत्रकार संघ (फोनिज) प्रदेश नम्बर २ का इन्चार्ज निरज पिठाकोटे, थारु समुदायका अगुवाहरु नन्दकिशोर पञ्जियार, हृदयनारायण चौधरी, सरस्वती चौधरी, जगत राई, मनोज चौधरी लगायत विभिन्न थारु समुदायको संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।