अनेरास्ववियु क्रान्तिकारी पर्साको विवाद सुल्झियो
वीरगन्ज, ६ असोज । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी पर्सामा देखिएको विवाद समाधान भएको छ । अध्यक्षका लागि कविराज पटेल र सन्दीप विक्रम साह दुईजनाको दावी रहेकोमा कविराज पटेललाई अध्यक्ष बनाएपछि असन्तुष्ट बनेका सन्दीप विक्रम साह पक्षले समानान्तर कमिटि गठन गर्ने तयारी गरेको थियो ।
तर, पार्टीका जिल्ला तहका नेता र विद्यार्थीका केन्द्रीय सदस्यहरुको पहलमा दुईजनबीच देखिएको विवाद हल गरेका हुन् ।
अध्यक्षमा कविराज पटेललाई यथावत राखेर बरिष्ठ उपाध्यक्षमा सन्दीप विक्रम साहलाई बनाउने र उनलाई केन्द्रीय सदस्यका लागि पनि प्रस्ताव गर्ने सहमति भएपछि विवाद समाधान भएको अखिल क्रान्तिकारी केन्द्रीय सदस्य एवं प्रदेश २ सहसंयोजक प्रभाकर गुप्ताले जानकारी दिनुभयो ।
नेकपा माओवादी केन्द्र पार्टी भित्र गुट उपगुटका कारणले धरासायी बनेको पार्टीको विद्यार्थी संगठनमा पर्सामा बलियो रहेको छ । तर, नेताहरुकै प्रभावमा विद्यार्थी संगठन पनि ध्वस्त हुने चिन्ता विद्यार्थी नेताहरुलाई थियो ।
त्यहि चिन्ता र चासोले विद्यार्थी संगठनको विवाद समाधान गर्न सहज भएको छ । अध्यक्षका दावेदार सन्दीप विक्रम साहले संगठनमा धेरै लामो योगदान गर्नेको मूल्यांकन हुन नसक्नु दुर्भाग्य भएको बताउनुभयो ।
तरपनि पर्सामा अन्य विद्यार्थी संगठन भन्दा बलियो बन्दै गएको अनेरास्ववियु क्रान्तिकारी संगठनलाई जीवित राख्नका लागि आफूले संगठनका लागि त्याग गरेको बताउनुभयो ।
आफू नेतृत्वका लागि योग्य भए कुनै दिन संगठनले आफ्नो मूल्यांकन गर्ने बताउदै अहिलेको अवसरलाई आफूले त्याग गरेको बताउनुभयो ।
राजनीतिमा सबैले अडान लिएर मात्रै नहुने बताउदै आफ्नो राजनीतिक भविष्य सुनिश्चित गर्नका लागि केही न केही त्याग गर्न पनि आवश्यक रहेको साहको तर्क थियो ।