वीरगञ्जका ठूला नालाहरु दुई दशकपछि सफाई
वीरगञ्ज, १७ जेठ । एकैछिनको वर्षाले जलमग्न हुने जिल्ला प्रशासन कार्यालय पर्सा छेऊको नाला दुई दशकपछि सफा गरिएको छ । सिडिओ अफिस अगाडीको नाला वीरगञ्ज महानगरपालिकाको स्काभेटर र सरसफाई कर्मचारीले दुई दशकपछि सफा गरेका हुन् ।
नाला सफा गर्नका लागि सिडिओ अफिस बाहिरको पर्खालसमेत भत्काउनु परेको महानगरपालिकाको सरसफाई शाखा प्रमुख सर्फुदिन मियाँले बताउनुभयो । बिसौँ वर्षपछि महानगर प्रमुख राजेशमान सिंहको निर्देशनमा यो नाला सरसफाई गरेको उहाँले बताउनुभयो ।
महानगरमा हुने डुबानको जोखिमलाई कम गर्नका लागि ठाउँठाउँमा वर्षौँदेखि सफा नगरिएका नाला सरसफाई गर्ने क्रम जारी नै रहेको बताउनुभयो । नाला सफा गरिएसँगै डुबानको जोखिम कम भएको र भएपनि विगतको जस्तो नहुने मियाँको दावी छ ।
महानगरप्रमुख राजेशमान सिंहले आफ्नै कार्यकालमा महानगरका हरेक नालालाई सफा गरेर व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । महानगरले अघि सारेको सफा र स्वच्छ वीरगञ्ज बनाउने अभियानमा हातेमालो गर्दै नालामा फोहोर नफालेर ढल मात्रै बग्न दिन उनले महानगरबासीसँग आग्रह गर्नुभएको छ ।
महानगरबासी जिम्मेवार भएर फोहोर सबै डस्टबिन र फोहोर उठाउने गाडीमा फाल्ने हो भने नालामा ढलको पानी मात्रै बग्ने र जसले गर्दा डुबान नहुने सिंहको भनाई छ ।