मधेस प्रदेशमा मगर राष्ट्रिय मुक्ति मोर्चाको अन्तरकृया 

मधेस प्रदेशमा मगर राष्ट्रिय मुक्ति मोर्चाको अन्तरकृया 

वीरगन्ज, १० बैशाख । मगर राष्ट्रिय मुक्ति मोर्चाको मधेस प्रदेशमा ‘समृद्धिको आधार, आदिवासी जनजातिको अधिकार’ विषयक अन्तरकृया हिजो सम्पन्न भएको छ । सर्लाहीको लालबन्दीमा सम्पन्न अन्तरकृयामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लुम्दी धिमालले आदिवासी जनजातिको अधिकारको सवालमा राज्यसँग अझै संघर्ष गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको थियो ।

मगर राष्ट्रिय मुक्ति मोर्चाका बरिष्ठ उपाध्यक्ष कमल बहादुर पिठाकोटे मगरले मधेस प्रदेशमा बसोवास गर्ने आदिवासी जनजाति समुदायलाई पहिचानवादी मधेस सरकारले नै वेवास्ता गरेको भन्दै यसको पहिचानवादी आन्दोलनको नेतृत्व गर्न मधेस प्रदेशबाट केन्द्रीय सदस्य रहनु भएका नेकपा माओवादी केन्द्रका लम्दी धिमाललाई आग्रह गर्नुभयो ।

राष्ट्रिय मुक्ति मोर्चाका मधेस प्रदेशका अध्यक्ष यम बहादुर जर्घा मगरको अध्यक्षतामा भएको कार्यक्रममा मोर्चाका बरिष्ठ उपाध्यक्ष कमल बहादुर पिठाकोटे मगर, प्रमिला राना मगर, लेखराज जर्घा मगर र वाईसियल मधेस प्रदेश इन्चार्ज सञ्जय पाचे मगर लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन टिका दर्लामीले गर्नुभएको थियो ।