नेपाल भारत जिल्ला स्तरीय सीमा समन्वय बैठक सम्पन्न, दुवैतर्फको सुरक्षा व्यावस्था कडा बनाईने

नेपाल भारत जिल्ला स्तरीय सीमा समन्वय बैठक सम्पन्न, दुवैतर्फको सुरक्षा व्यावस्था कडा बनाईने
बैठकपछि सामूहिक तस्वीर खिचाउँदै नेपाल भारत जिल्ला स्तरीय सीमा समन्वय समितिमा सहभागीहरु

वीरगन्ज, १५ कार्तिक । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि नेपाल भारतको जिल्ला स्तरीय सीमा समन्वय समितिको बैठक मंगलबार सम्पन्न भएको छ ।

भारततर्फको एकीकृत भन्सार जाँचचौकी (आईसीपी) मा सम्पन्न बैठककमा आसन्न निर्वाचनको सुरक्षाका लागि निर्वाचन अघि ७२ घण्टा अगाडि सीमा सील गर्ने, आवश्यक सूचना आदान प्रदान गर्ने, सीमाक्षेत्रमा हुने अन्तरदेशीय अपराध नियन्त्रणमा दुवैतर्फका सुरक्षा अधिकारीहरुबीच समन्वय गर्ने निर्णय भएको छ ।

पूर्वी नवलपरासीदेखि रौतहटसम्मका प्रमुख जिल्ला अधिकारी, तीनवटै सुरक्षा निकायका प्रमुखहरु र भारतर्फपनि सोही सीमाक्षेत्रमा पर्ने जिल्लाका प्रमुखहरुको संयुक्त बैठक सम्पन्न भएको हो । बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, बाराका प्रमुख जिल्ला अधिकार कृष्ण बहादुर कटुवाल,

पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेल, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक दीपक खड्का, बाराका प्रहरी उपरीक्षक होबेन्द्र बोगटी, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापा लगायत रौतहटदेखि नवलपरासी पूर्वसम्मका प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीहरुको सहभागिता रहेको थियो ।

भारतर्फ पूर्वी चम्पारणका डिष्ट्रिक मेजेष्ट्रेट श्रीसत कपिल अशोक, एसपी कुमार आशिष, डेपुटी डिष्ट्रिक मेजेष्ट्रेट समिर शौरभ, पूर्वी चम्पारणका डिष्ट्रिक मेजेष्ट्रेट कुन्दन कुमार, बेतियाका एसपी उपेन्दै नाथ वर्मा, बगाहाका एसपी किर कुमार गोरख जाधव, भारतीय सीमा सुरक्षा बल पिपराकोठीका डेपुटी कमाण्डेट डीआर सिंह, एकीकृत भन्सार जाँचचौकी (आईसीपी) रक्सौलका प्रवन्धक प्रविण कुमार एस भी लगायतको उपस्थिति रहेको थियो । बैठकमा सहभागी एक सुरक्षा अधिकारीले जानकारी दिनुभयो ।