राजनीतिक दल, स्वतन्त्र उमेदवार र राष्ट्र विकासको एजेण्डा

राजनीतिक दल, स्वतन्त्र उमेदवार र राष्ट्र विकासको एजेण्डा

नारायण प्रसाद चापागाँई 

गत स्थानीय तहको चुनावमा कुनै राजनीतिक पृष्ठभूमि नभएका केही स्वतन्त्र युवाहरु पालिका प्रमुखमा निर्वाचित भएसँगै नेपालको राजनीतिमा युवावर्गको चासो र रुची बढेको देखिन्छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनको लागि दलभित्र भन्दा दलवाहिर रहेर स्वतन्त्र उम्मेदवारी दिने युवाहरु बढी छन् । सत्तामा पुुग्नको लागि लामो राजनीति गरेको र जेलनेल भोगेको हुनुपर्ने भन्ने स्थापित भनाईमा बदलाव आउँदैछ ।  

नेपालको समकालीन राजनीतिक दलहरुले सरकारमा रहँदा सुशासन र प्रभावकारी सेवा दिन नसकेको, जनताको अवस्था बदल्न नसकेको, भ्रष्टाचार र अनियमिततामा डुुबेको जस्ता आरोप लगाएर आफू निर्वाचित भएर सरकारमा पुुगे जनतालाई सर्वसुलभ सेवा दिने,  भ्रष्टाचारका एक एक फाइल खोल्ने, सबै नेताको सम्पत्ति राष्ट्रियकरण गर्ने, रातारात विकास गरी देशको कायापलट गरिदिने, देशमा विकास र समृद्धिको मुल फुटाइदिने जस्ता सतही भाषण ठोकेर सत्ताको भर्‍याङ्ग चढ्न खोज्ने वैकल्पिक दल वा समूहमा यतिखेर अधिकांश युवाहरु सम्मिलित छन् ।

यसमध्ये रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी बढी चर्चित छ । उता सचेत नेपाली पार्टी खोलेका पुण्य प्रसार्ईं, नेपाल सुशासन पार्टीका रमेश खरेल लगायतका व्यक्तिहरु पनि आफुु वैकल्पिक शक्ति एक भएर जानुपर्नेमा कटिबद्ध भएको र पहलकदमी लिएको भए पनि केही व्यक्तिको निहित स्वार्थकै कारण एक भई जान नसकेको दुहाई दिईरहेका छन् । अर्काेतिर, स्वतन्त्र भनेर ‘लौरो अभियान’ चलाएका व्यक्तिहरु पनि हाम्रो नेपाली पार्टीको नामले चुनावमा होमिएका छन् ।

यसवाहेक व्यक्तिगत रुपमा स्वतस्र्फुत स्वतन्त्र उम्मेदवारी दिने युवाहरु पनि धेरै छन् । केही व्यक्तिहरु पार्टीबाट विद्रोह गरेर स्वतन्त्र रुपमा उम्मेदवारी दिएको अवस्था पनि छ । केही वागी उम्मेदवारहरुले पनि आफुलाई स्वतन्त्र भन्न रुचाउँछन् ।  स्थानीय तहको चुनावमा धरान र काठमाडौँमा स्वतन्त्र उम्मेदरवार विजयी भएपश्चात् हौसिएका केही समुह र व्यक्तिहरु स्वतन्त्रको ट्याग भिरेर सत्ताको भ¥याङ्ग उक्लिन चाहन्छन् ।  

यसरी वैकल्पिक शक्ति मानिएका उपरोक्त दल र समूहहरु सत्ताको रसोस्वादनका निम्ति तछाडमछाड गरिरहेको देखिन्छ तर देशको समृद्धि, सुशासन, आर्थिक, सामाजिक विकास, सार्वभौमिकता र सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र नीति जस्ता विषयमा यी समूहको प्रस्ट धारणा र मार्गचित्र पाइदैँन ।  समकालीन राजनीतिक दलहरुले राजनीतिलाई सत्ता र कुर्सीमा पुुग्ने माध्यम बनाएको तर जनतालाई सर्वसुलभ प्रभावकारी सेवा दिन नसकेको, अवस्था बदल्न नसकेको उल्टै महगीँ र करको भार थोपरेपछि आजित जनताले विकल्प खोज्नु स्वभाविक हो ।

जनताको यही सेन्टिमेन्टलाई क्याच गरेर पुराना राजनीतिक दलहरुलाई गाली गरेकै भरमा आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा केही वैकल्पिक समुहका उम्मेदवार विजयी हुन सक्लान् । तर चुनाव जित्ने कुरा महत्वपूर्ण होइन । जितेको प्रतिनिधिले जनताको पक्षमा कति काम गर्न सक्छ त्यो महत्वपुुर्ण हो । विजयी प्रतिनिधिले जनताको पक्षमा र सुशासनको पक्षमा नीतिगत व्यवस्था गर्न कत्तिको सक्षम हुन्छ त्यो महत्वपूर्ण हो ।  रविको बारेमा चर्चा गर्दा उनले सञ्चार माध्यममा दिएको योगदान उल्लेखनीय छ । असहाय र आवाजविहीनहरुलाई उनले पत्रकारको कर्मभन्दा माथि रहेर सहयोग गरे, त्यो वेग्लै पाटो हो ।

त्यही पाटोलाई राजनीतिमा जोडेर उता सफल भएको वा विश्वास जितेको मान्छे यता पनि सफल हुन्छ भनेर प्रत्याभूति गर्न सकिदैँन । अहिले रबी राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष छन् । उनी उक्त पार्टीको अध्यक्ष मात्रै होइनन्, ब्राण्ड हुन्, प्राधिकार हुन् । अधिकांश जनताले उनलाई टि.भिमा सिधा कुरा चलाएकै भरमा चिनेका हुन् । उक्त कार्यक्रममार्फत उनले गरेको कर्मले एकाएक उनको प्रसिद्धि चुलिएको हो । उनलाई बाहेक राष्ट्रिय स्वतन्त्र पार्टीका अन्य पदाधिकारीलाई धेरैले चिन्दैनन् । पार्टी निर्माणको चरणमा उनले वैकल्पिक राजनीतिक धारमा रहेका आशालाग्दा अनुहारलाई समेट्न सकेनन् ।

सत्तासिन दलहरु सत्तास्वार्थका लागि जे पनि गर्न तयार हन्छन्  भनेर कत्लेआम गाली गर्नेहरु सत्तामा उक्लिनकै लागि पनि एकजुट हुन सकेनन् । देशको माया भएका र देश विकास गर्न चाहने वैकल्पिक भनिएका दल वा समुहहरु एउटै छाताभित्र साझा कार्यक्रम र घोषणापत्र लिई संयुक्त रुपमा चुनावमा होमिनुपर्ने अधिकांश जनताको चाहना थियो । तर त्यसो हुन सकेन । जे होस्, अहिले अलग अलग निर्वाचनमा होमिए पनि निर्वाचित भैसके पछि राष्ट्रिय महत्वका सबालमा यी वैकल्पिक युवा शक्तिहरु एकजुट हुनेछन् र मिलेर अघि बढ्नेछन् भन्ने आशा गरौँ ।  चितवनको निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभाको उम्मेदवार बनेका रबि लामिछाने यतिखेर सर्वत्र चासोको विषय बनेका छन् ।

यतिखेर उनी चितवनमै डेरा गरेर घरदैलो कार्यक्रमलाई अघि बढाइरहेका छन् । पुडासैनीको केसमा चितवन २ नं. क्षेत्रका वासिन्दा आफ्नो न्यायको लागि लडेको र अब आफु ती वासिन्दाको न्यायको लागि लड्ने भनेर वक्तव्य दिइरहेका छन् ।  चोरलाई चोर हो भन्नको लागी राजनीति सिक्नुनपर्ने, भ्रष्टाचार नगर्नको लागि राजनीति सिक्नुनपर्ने, पानी परेको बेलामा बाटो पिच गर्नुहुँदैन भन्नको लागि राजनीति सिक्नुनपर्ने र आफूले त्यस्तो राजनीति नसिक्ने भन्ने रबीको तर्क छ ।

तर उनले आफ्नो पार्टी.. विकासका कुन क्षेत्रमा कुन मोडलद्वारा कस्तोे रणनीति, कार्यनीति र कार्यक्रम अख्तियार गरी अघि बढ्न चाहेको  हो ? पार्टीको कार्यदिशा के हो ? देशको समृद्धि र आर्थिक पुनर्उत्थानको लागि पार्टीको एजेण्डा के हो ? भन्ने सम्बन्धमा न त उनको पार्टिको प्रष्ट मार्गचित्र आउन सकेको छ न त उनले आफ्नो भाषणमा यस्ता कुराहरु गर्छन् ।  राजनीति भनेको केवल सरकारको तर्फबाट जनतालाई दैनिकरुपमा प्रवाह हुने सामान्य सेवा वा साधारण विकास व्यवस्थापन मात्रै होइन । यो त राज्य सञ्चालनकोे महत्वपुर्ण नीति हो ।

राज्यको समग्र गन्तव्य र लक्ष्यमा पुुग्ने नीति हो । शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सिचाई, विद्युत, ईन्धन, पर्यटन, उद्योग जस्ता विकासका पुर्वाधारमा राज्य र निजि क्षेत्रले के कति भुमिका खेल्ने ? के कति क्षेत्रमा राज्यको एकल अधिकार रहने ? कुन कुन पक्षमा निजी क्षेत्रहरुविच प्रतिस्पर्धा गराउने सकिने ? अर्थतन्त्र पुँजीवादी, साम्यवादी वा समाजवादी केलाई प्राथमिकता दिने ? आयातमुखी अर्थतन्त्रलाई कसरी निर्यातमुखी बनाउने ? त्यसको लागि निर्यातमा करछुुटको व्यवस्था मात्रै पर्याप्त हुन्छ या उत्पादकत्व अभिवृद्धि गर्ने नीतिगत व्यवस्था गर्न जरुरी छ ? देशको उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न विद्यमान कुन कुन नीतिगत व्यवस्था संसोधनको जरुरत छ ?

नेपालको लागि तुुलनात्मक लाभको क्षेत्र मानिएको जलविद्युत, पर्यटन र कृषि लगायतका क्षेत्रको जिडिपीमा भएको विद्यमान योगदानलाई अभिवृद्धि गरी रेमिट्यान्सबाट धानिएको अर्थतन्त्रलाई दीगो उत्पादनमुखी आत्मनिर्भर अर्थतन्त्र बनाउन के गर्नुपर्छ ? दीगो विकास लक्ष्य अन्तर्गत सन् २०३० सम्म पुरा गर्नुुपर्ने विकासका लक्ष्य पुरा गर्ने सम्बन्धमा प्रस्ट मार्गचित्र के हो ? २० खर्ब नाघेको सार्वजनिक ऋण र १० खर्बको हाराहारीमा रहेको बेरुजुको समाधान के हो ?  राज्यको शक्ति पृथकीकरण र सन्तुलनको लागि राज्यका ३ अंगको हालको कार्यक्षेत्र र सम्बन्धमा कुनै सुधार गर्नुुपर्ने छ वा छैन ?

संघीय प्रणालीअन्तर्गतको तीन तहको प्रावधान कति उपयुक्त वा अनुपयुक्त ? विद्यमान सुधारिएको संसदीय व्यवस्था वा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था ? विद्यमान निर्वाचन प्रणाली वा फरक विकल्प ? नागरिकतासम्बन्धी नीति कस्तो हुने ? राज्यका महत्वपुुर्ण अंगमा आरक्षणको व्यवस्था कहिलेसम्म ? भ्रष्टाचार र अनियमितता रोकथामको लागि कस्तो नीतिगत र संरचनागत व्यवस्था ? तटस्थ र असंलग्न परराष्ट्र नीति वा न्यायसंगत आधारमा संलग्न हुने सन्तुलित परराष्ट्र नीति ?

अन्तर्राष्ट्रिय सहायता स्विकार र परिचालनसम्बन्धी नीति कस्तो हुने ? भन्ने सम्बन्धमा न त पुराना राजनीतिक दलहरुले न वैकल्पिक राजनीतिक दल वा समुहहरुले नै मतदाताको विचमा देशको समग्र विकासको मोडलसम्बन्धी कार्ययोजनासहितको स्पष्ट घोषणापत्र ल्याएको अवस्था छ । पुराना दलहरुमा देशको राजनीतिक, आर्थिक कार्यदिशा र गन्तव्यसम्बन्धी दुरदृष्टि नभेटाएका मतदाताले नयाँ पार्टी वा समुहमा देश विकासको स्पष्ट भिजन भएन भने हामी भ्रष्टाचार गर्दैनौँ, इमान्दार भई काम गर्छाैँ भनेकै भरमा नपत्याउन सक्छन् ।

शिक्षित, सचेत र प्राज्ञिक व्यक्तिहरुले चनाखोपुर्वक उपरोक्त सबालमा उदयीमान दलहरुको स्पष्टता खोजीरहेका छन् । तर यस्ता सबालमा एकाध समुहका अलावा धेरै दल वा समुहहरु हालसम्म मौन छन् । आशा गरौँ, छिटै नै राजनीतिक दल वा स्वतन्त्र व्यक्तिहरु नेपाली जनताको वीचमा राष्ट्र विकासको सुुस्पष्ट एजेण्डा लिएर पुुग्नेछन् । मुलुकको समग्र विकाससँग सम्बन्धित उल्लेखित महत्वपुर्ण सबालहरुमा सुस्पष्ट मिसन भएको, प्रस्ट भिजन भएको र निष्ठाको राजनीति गर्ने दल, समुह वा व्यक्तिहरु आसन्न निर्वाचनमा विजयी होऊन्, शुुभकामना !