वीउवा संघको सस्तो बजारमा ग्राहकको भीड

वीउवा संघको सस्तो बजारमा ग्राहकको भीड
सस्तो बजारमा किनमेल गर्न आएका ग्राहकहरु

वीरगन्ज, १२ असोज । दशैंको अवसरमा वीरगन्ज उद्योग वाणिज्य संघले लगाएको सस्तो बजारमा ग्राहकको भीड लागेको छ । वीरगन्जको टिवडेवाल धर्मशालामा घटस्थापनाको दिनदेखि शुरु भएको सस्तो मेलामा विभिन्न उपभोग्य सामग्रीको १९ वटा स्टलहरु राखिएका छन् ।

दाल, तेल, चामल, अचार, नुन, विस्कुट ग्याँस लगायतका अतिआवश्यकीय उपभोग्य वस्तुहरु स्टलमा राखिएको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा.सुवोध कुमार गुप्ताले बताउनुभयो ।

मूल्यवृद्धिले महंगो दशैं हुने चिन्तामा रहेका उपभोक्ताहरुलाई बजार भन्दा दुईपैसा भएपनि सस्तोमा सामान उपलब्ध गराउने उद्देश्यले सस्तो बजार लगाईएको गुप्ताले बताउनुभयो । सस्तो बजारबाट उपभोत्ताले केही राहत पाउनेमा विश्वस्त रहेको उहाँको भनाई छ ।

घटस्थापनाको दिन पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले उदघाटन गरेको सस्तो बजारमा पहिलोदिन देखि नै भीड लागेको आयोजक संस्थाले जनाएको छ । बजारमा मूल्यवृद्धि भएपछि यसपालीको दशैं महंगो हुनेमा उपभोक्ताहरुलाई उद्योग वाणिज्य संघले ल्याएको सस्तो बजारले राहत महशुस गरेका छन् ।

यद्यपि अधिकांश ग्राहक सस्तो सामान किन्नका लागि रक्सोल बजार नै पुग्ने गरेका छन् ।