पर्सामा जसपाबाट माओवादी केन्द्रमा प्रवेश गर्नेको लर्को, सीपु तिवारी सहितका नेताहरु माओवादीमा प्रवेश 

पर्सामा जसपाबाट माओवादी केन्द्रमा प्रवेश गर्नेको लर्को, सीपु तिवारी सहितका नेताहरु माओवादीमा प्रवेश 

वीरगन्ज, २२ भदौ । नेकपा माओवादी केन्द्र पर्साको संस्थापन नेतृत्व निस्क्रिय हुदै गएपनि नवप्रवेशीहरुका कारण पार्टीमा नयाँ उर्जा र उत्साह थपिएको छ । विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नेहरुले पार्टीमा उर्जा र उत्साह थपेको हो । पर्सा जसपाका केन्द्रीय सदस्य मुरलीमनोहर तिवारी (सीपु) सहितका नेता कार्यकर्ता जसपा परित्याग गरेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

देशको परिवर्तनका लागि  विभिन्न कालखण्डमा भएका आन्दोलनहरूबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्म निरपेक्ष राष्ट्र स्थापना भएको र यसको जग नै माओवादी जनयुद्ध भएकोले माओवादी केन्द्रमा प्रवेश गरेको तिवारीले बताउनुभयो । नेपालका आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, पिछडिएका वर्गहरूको समानुपातिक समावेशी अधिकार

सुनिश्चित गर्नका लागि हामी आवद्ध  जनता समाजवादी पार्टी नेपालको पनि भूमिका  रहेपनि, पछिल्लो समयमा आएर जनता समाजवादी पार्टीमा स्वेच्छाचारीता, निरंकुशता र एकलौटी ढंगबाट पार्टी सञ्चालन गर्ने नेतृत्वको प्रवृत्तिले पार्टी फुटको संघारमा पुगेको र अधिकांश नेता कार्यकर्ताहरुले जसपा छोडेर माओवादी केन्द्र रोजेको नेकपा माओवादी केन्द्र प्रदेश समिति सदस्य सलाउद्दीन अहमदले बताउनुभयो ।

नेतृत्वलाई पटक पटक बैठक र छलफलबाट पार्टीभित्र देखिएको विवाद समाधानका लागि आग्रह गरिएपनि आन्तरिक छलफलबाट समाधान नगरी सत्ता स्वार्थमा मात्रै केन्द्रित भएकोले जनता समाजवादी पार्टी नेपालबाट सामूहिक राजिनामा दिएको घोषणा गरेको विज्ञप्तिमा जनाएको छ । तिवारीको जसपा बहिर्गमनसँगै पर्सा क्षेत्र नम्बर ४ मा जसपा रित्तिएको छ । यसअघि मधेस आन्दोलनबाट स्थापित नेताहरूले जसपा परित्याग गरि माओवादीमा प्रवेश गरेका थिए ।

केन्द्रीय सदस्य विरेन्द्र यादव, टेक बहादुर शाक्य, प्रदेश सदस्य सलाउद्दीन अहमद, मोहन यादव लगायतका नेताहरू माओवादीमा प्रवेश गरेका छन् । कमजोर नेतृत्वकोका कारण पर्सामा हराएको माओवादी पार्टी नवप्रवेशीहरूको उत्साह र उर्जाले बलियो बन्दै गएको छ । अहिलेको परिवर्तनका लागि माओवादीको मुख्य भूमिका रहेको र मधेसवादी दलहरुले त्यसको ब्याज मात्रै खाएको जसपा परित्याग गर्ने नेताहरुले बताएका छन् ।