संयुक्त विद्यार्थी संगठनद्वारा मशाल जुलुश प्रदर्शन, अखिल क्रान्तिकारीका महानगर अध्यक्ष घाईते
वीरगन्ज, १६ असार । वीरगन्ज सहित देशभर सरकारको विरोधमा संयुक्त विद्यार्थी संगठनले मशाल जुलुश प्रदर्शन गरेको । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको विरोधमा विपक्षी गठबन्धनका विद्यार्थीहरु आन्दोलित भएका हुन् । उनीहरुले आज वीरगन्जमा पनि प्रधानमन्त्री र राष्ट्रपतिको कदमको विरोधमा मशाल जुलश सहित प्रदर्शन गरेका छन् ।
नेपाल विद्यार्थी संघले घण्टाघरबाट, अखिल क्रान्तिकारीले मिनाबजार गल्लीबाट र समाजवादी विद्यार्थी युनियन र अनेरास्ववियुले माईस्थानबाट मशाल जुलुश सहित प्रदर्शन गरेका थिए । अनेरास्ववियुका केन्द्रीय सचिव अरुण यादवको नेतृत्वमा, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रभाकर गुप्ता, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव सुजित गिरी तथा नेविसंघका कार्यवाहक जिल्ला अध्यक्ष विकेश पटेलले नेतृत्वमा जुलुश निकालिएको थियो ।
यसैबीच अखिल क्रान्तिकारीले मिना बजार गल्लीबाट निकालिएको मशाल जुलुश माईस्थानमा पुग्दा प्रहरीले खोस्न खोज्दा विद्यार्थी र प्रहरीबीच एकछिन झडप पनि भएको थियो । त्यसपछि विद्यार्थीहरुले केहीबेर माईस्थानमा नाराजुलुश गर्दै पुनःघण्टाघर आएका थिए ।
प्रहरीसँगको झडपमाएकजना विद्यार्थी घाईते भएका छन् । अखिल क्रान्तिकारीका महानगर अध्यक्ष विवेक कुमार साह प्रहरीले हानेको लाठी लागेर घाईते भएका हुन् । उनलाई उपचारका लागि नारायणी अस्पतालमा लगिएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज जुवैर आलमले बताए ।