सीमा क्षेत्रमा चरम तस्करी, सुरक्षा संयन्त्र मौन 

सीमा क्षेत्रमा चरम तस्करी, सुरक्षा संयन्त्र मौन 

भदौ, १ वीरगन्ज। सीमाक्षेत्रमा तस्करी हुनु स्वभाविक मान्न सकिन्छ । तर, तस्करीले पनि सीमाको हद नाघ्यो भने त्यसलाई स्वभाविक मान्न सकिन्न । नेपाल भारत सीमा क्षेत्रमा हुने अवैध ओसार पसार, तस्करी नियन्त्रण गरी राजस्व चुहावट रोक्न सुरक्षा संयन्त्रहरु परिचालन गरिएको छ । सुरक्षा संयन्त्रले पनि सीमाक्षेत्रबाट हुने तस्करीलाई नियन्त्रण गर्न नसक्दा सीमाको तस्करीले चरम सीमा नाघेको छ ।

नेपाल भारतको खुला सीमाका कारणले पूर्ण रुपमा तस्करी नियन्त्रण सम्भव नभएपनि तस्करीको प्रकृति र प्रवृत्तिलाई हेर्दा संस्थागत संरक्षणबाटै तस्करी भईरहेको सूचना प्राप्त भएको छ । मधेस प्रदेशको ८ वटै जिल्लामा तस्करी रोकिएको छ । पर्साको सीमाक्षेत्रबाट विभिन्न किसिमका सामानहरु तथा खसी बाख्रा समेत व्यापक तस्करी भईरहेको स्थानीय बताउछन् । सीमाक्षेत्रमा खसीबाख्रा भारतबाट तस्करी गरि भित्र्याउने तरिका हेर्दा पनि रोचक लाग्ने खालको छ ।

भारतबाट तस्करी गरिएका खसीबाख्राहरु सानासाना केटाकेटीले चराउन लगे जस्तो गोठालो बनेर नेपालतर्फ ल्याउने गरेका छन् । त्यसपछि यहाँबाट विभिन्न सहरमा खसीबाख्रा लाने गरेको छ । खाद्यान्न, पेय पदार्थ, हार्डवेयरका सामान र स्पेयरपार्टसका सामानहरु पनि व्यापक तस्करी हुने गरेको छ । वीरगन्जमा भित्रिएका हार्डवेयर र कपडाका सामानहरु हेर्दा संस्थागत संरक्षणमा नै तस्करी हुने गरेको अुनमान लगाउन सकिन्छ ।

अहिले तस्करीको लागि सबैभन्दा सहज र अनुकूल नाका सर्लाही जिल्ला बनेको छ । सर्लाही जिल्लाको गडहिया डुमरिया नाकाबाट अहिले प्रहरीकै मिलेमतोमा व्यापक तस्करी हुने गरेको स्रोतले जनाएको छ । प्रहरी इलाका प्रहरी कार्यालयका गडहिया डुमरियाका इन्चार्ज प्रहरी बरष्ठि नायव निरीक्षक प्रकाश बहादुर रावतको प्रत्यक्ष संलग्नतामा नै तस्करीको लाईन खोलिएको स्रोतको दावी छ । त्यसक्षेत्रका तस्करहरुले प्रहरीसँगको मिलेमतोमा व्यापक तस्करी गरिरहेको स्थानीयले बताए ।

वीरगन्ज भन्सारबाट छुटेका मालवाहक ट्रकहरुबाट नै यस्ता अवैध सामानहरु बरामद हुने गरेको छ । साउन ३० गते मात्रै चामलको विल साथमा लिई राजश्व छली चोरी पैठारी गरी ल्याएका सुर्ती, चेरी पान मसाला र चैनी पान मसाला प्रहरीले बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नं.२१ परवानीपुर चोक स्थित सडकखण्डमा ना ८ ख ३४२६ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा  लोड रहेका चामलको विल मात्र साथमा रहेको र सुर्ति १६ बोरा, चैनी पान मसाला १४ बोरा तथा चेरी पान मसाला १० बोरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बिना प्रज्ञापन पत्रको सामान फेला परेपछि उक्त ट्रक नियन्त्रणमा लिएर  ३८, लाख ६० हजार, १००।– (अड्तिस लाख साठ्ठी हजार एक सय) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि मंगलबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ । यसअघि पनि धेरैपटक प्रहरी र सशस्त्र प्रहरीले बिलविजक भन्दा बढी सामान लोड गरेका धेरै मालवाहक ट्रकहरु नियन्त्रणमा लिएर राजस्व अनुसन्धान र भन्सार कार्यालयमा बुझाएको छ ।

भन्सार र राजस्व अनुसन्धान कार्यालयमा ट्रक सहितका बुझाईएका ती सामानहरु कति वैध हुन् कति अवैध हुन् भनेर अहिलेसम्म भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालयले सार्वजनिक भने गर्ने गरेको छैन । यसले पनि तस्करीमा संस्थागत मिलेमतो वा संरक्षण छ भन्ने लख काट्न सकिने र राजस्व अनुसन्धान कार्यालय र भन्सार कार्यालयतर्फ प्रश्न गर्ने ठाउँ रहेको छ ।