सुबोध स्मृति पुरस्कार पत्रकार देवकोटालाई प्रदान गरिने
वीरगन्ज, २० साउन । प्रतीक दैनिकले पत्रकार स्व सुबोध सिंहको स्मृतिमा चौध वर्षदेखि प्रदान गर्दै आएको सुबोध स्मृति पुरस्कार वीरगंजका पत्रकार गोविन्द देवकोटालाई दिने निर्णय गरेको छ । तीनदशकदेखि वीरगन्जमा पत्रकारिता गर्दै आउनु भएका देवकोटा वीरगन्जबाट प्रसारण हुने सामुदायिक रेडियो नारायणी एफ.एम. १०३.८ मेगाहर्जका कार्यकारी अध्यक्ष हुनुहुन्छ ।
वीरगन्जमा व्यावसायिक पत्रकारिताको विकास तथा सामाजिक रुपान्तरण र आर्थिक विकासका लागि पत्रकारिताको क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्यउनु भएका देवकोटा यसबर्ष सुवोध पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुन लाग्नुभएको हो । छापा माध्यमको पत्रकारिताबाट शुरु गर्नुभएका देवकोटा वीरगन्जमा पत्रकारिता पेशालाई व्यावसायिक र मर्यादित बनाउन निरन्तर लागि रहनुभएको छ ।
वीरगन्जमा छापा माध्यमदेखि एफ.एम.रेडियो स्थापना, व्यावस्थापन र सञ्चालनमा समेत लामोसमयदेखि सक्रिय रहनु भएको छ । यसअघि फोटो विधाका पत्रकारलाई मात्रै प्रदान गर्दै आएको पुरस्कार यस वर्षदेखि फोटोबाहेकका विधाका पत्रकारलाई पनि पुरस्कार दिने निर्णय गरेको हो ।
प्रतीक प्रकाशन समूहका अध्यक्ष बिन्दु शर्माको अध्यक्षतामा बिहीवार बसेको बैठकले देवकोटालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । आगामी भदौ १ गते प्रतीक दैनिकको ३६औं वार्षिकोत्सवको अवसरमा कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरिनेछ । रु १० हजारको राशीबाट शुरू गरिएको पुरस्कार यस वर्षदेखि बढाएर ५१ हजार रुपैयाँ पुर्याईएको छ प्रतीक प्रकाशन समूहले जनाएको छ ।
गत वर्ष भने ३५ हजार रहेको थियो । पुरस्कार आगामी भदौ १ गते प्रतीक दैनिकको बार्षिकोत्सवको अवसरमा प्रदान गरिने समूहले जनाएको छ । यसैगरी, वार्षिकोत्सवमा प्रतीक दैनिकका स्तम्भकार विश्वराज अधिकारी, संवाददाता राधेश्याम पटेल, समूहका कर्मचारी मोहन दास तत्वालाई पनि वार्षिकोत्सवको अवसरमा पुरस्कृत गर्ने समूहको बैठकले निर्णय गरेको छ ।