स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्र पर्साका अधिकांश युवा उम्मेदवार

भन्छन् देश बनाउने जिम्मा नै युवाको काँधमा छ

स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्र पर्साका अधिकांश युवा उम्मेदवार

वीरगन्ज । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्र पर्साका अधिकांश युवा उम्मेदवारहरुले अवसर पाएका छन् । पार्टीको विधान अनुसार युवाहरुको सहभागितालाई व्यापक बनाईएको छ । स्थानीय तह निर्वाचनमा पर्सामा अधिकांश उम्मेदवार युवा छन् ।

पर्साको ठोरी गाउँपालिकामा अध्यक्षका उम्मेदवार पिएल श्रेष्ठ, वडा नम्बर ४ का वडा अध्यक्ष सागर लामा, धोविनी गाउँपालिकाका अध्यक्ष गौरव सन्तोष पटेल, वडा नम्बर ५ का वडा अध्यक्षका उम्मेदवार लालबाबु बानियाँ पनि युवा नै छन् ।

त्यस्तै पर्सागढी नगरपालिकाको वडा नम्बर–३ का उम्मेदवार योगेन्द्र कार्की (बिक्रम), वीरगन्ज महानगरपालिकाको वडा नम्बर १२ का महम्मुद अन्सारी, वडा नम्बर १८ का ओमप्रकाश पटेल, वडा नम्बर ३१ का नन्दकिशोर पञ्जियार पनि युवा उम्मेदवार प्रतिस्पर्धामा छन् ।

विकास र परिवर्तनको लागि लड्ने तथा युवाहरुको लागि अवसर दिने पार्टी नेकपा माओवादी नै भएकोले माओवादी केन्द्रमा युवाहरुको आकर्षण बढ्दो रहेको उनीहरु बताउछन् । जनयुद्धपछि शान्ति प्रकृया हुदै खुला राजनीतिमा आएपछि देशको नेतृत्व तहमा नेकपा माओवादी केन्द्रकै तर्फबाट बढी युवाहरुको सहभागिता रहेको छ ।

राष्ट्रको मर्यादाक्रममा पाचौं स्थानमा रहने जनताको जनप्रतिनिधिमुलक संस्था प्रतिनिधिसभामा सबैभन्दा कम उमेरमा सभामुख पदमा नेकपा माओवादी केन्द्रकी ओनसरी घर्तीलाई पु-याउने पार्टी नै नेकपा माओवादी हो । त्यस्तै सबैभन्दा कम उमेरमा मन्त्री बन्ने अवसर दिएको पार्टी पनि माओवादी केन्द्र नै हो ।

त्यसैलेपनि माओवादी केन्द्रमा क्षमता र योग्यता भएका युवाहरुको बढी आकर्षण देखिएको राजनीतिक चिन्तन गर्नेहरुले बताएका छन् । युवाहरुमा देश विकास गर्ने जोश, जाँगर र उत्साह हुने तथा उनीहरुमा राष्ट्रसेवाको भावना बढी भएकोले पनि माओवादी केन्द्र युवाहरुको आकर्षण बन्ने गरेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का इन्चार्ज एवं पार्टीका युवा नेता अभिताभबच्चन दास बताउनुहुन्छ ।

माओवादी आन्दोलनकै कारण हजारौ युवाहरुले राजनीतिमा अवसर पाएको र निर्णायक तहको नेतृत्व गर्न पनि पाएको उहाँ बताउनुहुन्छ । नेकपा माओवादी केन्द्रका युवाहरु वैचारिक रुपमा प्रशिक्षित र जनताको आवश्यकतालाई  नजिकबाट नियालेका भएर पनि माओवादी केन्द्रमा युवाहरुको जमात सक्रिय रहेको पार्टी निकट अनेरास्वविय क्रान्तिकारीका केन्द्रीय सचिव प्रभाकर गुप्ता बताउनुहुन्छ ।

अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य शिवम साह  माओवादी पार्टीको प्रगतिशील बिचार र युवाहरु समेतमा हुने प्रगतिशील उर्जाले गर्दा माओवादी र युवाहरु एक अर्का प्रति आकर्षीत हुनु स्वभावीक भएको बताउनुहुन्छ । पार्टीले भर्खरै समापन गरेको रास्ट्रीय सम्मेलनले पनि युवा सहभागीतामा जोड दिएकोले पनि धेरौ युवाले अवसर पाएको पनि उहाँको बुझाई छ । साह पार्टीको विन्दवासिनी गाउँपालिकाका अध्यक्ष समेत हुनुहुन्छ ।